वीरगञ्ज,मालपोत कार्यालय पर्साका तत्कालीन ६ मालपोत अधिकृतहरू भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।मालपोत कार्यालय पर्सामा कार्यरत रहँदा जग्गाको लिखत पास गर्दा प्राप्त भएको राजश्व रकममध्ये ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला नगरी आफैँ अपचलन गरेको भन्दै अख्तियारले गत कात्तिक २० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा आर्थिक वर्ष २०७१।०७२ मा जग्गा किनबेचका क्रममा भएको लिखतबाट उठेको राजस्व रकम ९रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर० नियम अनुसार सरकारी खातामा दाखिला नगरी हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।अख्तियारको अनुसन्धानपछि तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढुङ्गाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कुमोद तिवारी र नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, कुमोद तिवारी र किरणप्रसाद उपाध्यायलाई जनही १ करोड २५ लाख ११ हजार ९९० रुपैयाँ ७५ पैसा बिगो कायम गरेको छ ।
त्यसैगरी गोपालप्रसाद ढुङ्गानालाई ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसाद अर्याललाई १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको छ ।

दोषी ठहर भएकामध्ये हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालप्रसाद ढुङ्गाना, पदमप्रसाद अर्याल र कुमोद तिवारीको सजाय निर्धारणका लागि असार ५ गतेको पेसी तोकिएको छ । किरणप्रसाद उपाध्यायको मृत्यु भइसकेको कारण उनको कायम भएको बिगो उनका छोराहरू राजकिशोर उपाध्याय, गौतम उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारी उपाध्यायबाट दामासाहीले भराउने फैसला भएको छ ।प्रतिवादीमध्येका चन्द्र भण्डारीको हकमा ४ लाख ८८ हजार ९२९ रुपैयाँ बिगो कायम गर्दै ६ महिना कैद सजायको फैसला सुनाइएको छ ।

Leave a Reply