पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की ५ लाख रुपैया घुस रकमसहित पक्राउ परेका छन् ।सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुन्धान आयोग हेटौंडाको टोलीले वडा अध्यक्ष कार्कीलाई सोमवार जीतपुरबाट घुस रकमसहित पक्राउ गरेको हो ।सिमराका घरजग्गा व्यवसायी राज उप्रेतीसँग लिएको घुस रकमसहित वडा अध्यक्ष कार्कीलाई अख्तियारको टोलीले जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।जग्गा बिक्रीको लागि घरबाटो सिफारिस माग्दा वडा अध्यक्ष कार्कीले घुस मागेर दुख दिएपछि आफूले बाध्य भएर अख्तियारलाई जानकारी गराएको पीडित व्यवसायी उप्रेतीले बताउनुभएको छ । सोही घुस रकम लिने क्रममा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो । उप्रेतीले जग्गा किन्ने बेच्ने क्रममा १२÷१३ लाख रुपैंया कार्कीलाई बुझाइसकेको र अझै थप रकम मागेर दुख दिएको बताउनुभएको छ ।पक्राउ परेका कार्कीलाई अख्तियारले हिरासतमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुन्धान आयोग हेटौंडाका सूचना अधिकारी उपसचिव गोविन्दप्रसाद गौतमले बताउनुभएको छ । उता, वडा अध्यक्ष कार्कीले भने आफूलाई फसाइएको बताउनुभएको छ ।

Leave a Reply