नरेश गुप्ता
बरियारपुर,संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षाको नाममा अभिभावकहरुसंग चर्को शुल्क असुल्दै ब्रह्मलुट मच्चाएको भन्दै नेपाल विदार्थी संघले बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारद्वारा जारी गरिएको शिक्षा ऐनलाई संस्थागत विद्यालयहरुले कार्यान्वयन नगरी मनोमानीढंगले शिक्षा दिने नाममा चर्को अभिभावकहरुसंग चर्को शुल्क असुल्दै ब्रह्मलुट मच्चाएको भन्दै कारबाहीको माग राखेर नेपाल विद्यार्थी संघ बाराका कार्यवाहक अध्यक्ष हरिओम शाह, विद्यार्थी नेता प्रविण पटेल र प्रभात सिंहको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय बारामा पुगेर प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाएका हुन ।
नेविसंघले प्रजिअ पौडेललाई बुझाएको ज्ञापन पत्रको वोधार्थ जिल्ला शिक्षा समन्वय ईकाई, निजी तथा आवासीय विद्यालय संघठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) र जिल्लाका १६ वटै स्थानीय तहलाई पनि दिइएको छ । संस्थागत विद्यालयहरुले कक्षा अपग्रेडिङ्ग, भर्ना र मांसिक शुल्कमा चर्को शुल्क वृद्धि गरेपछि संघले नियन्त्रणको माग गर्दै प्रजिअ पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा शिक्षा ऐन अनुसार संस्थागत विद्यालयहरुले १ हजारभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयमा १० प्रतिशत छात्रवृत्ति र बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने, सवारीसाधन शिक्षा मापदण्ड अनुसार हुनुपर्ने र नामाङ्कन र प्रवेश शुल्क लिएको÷नलिएको प्रमाण सहित कार्यान्वयन भए÷नभएको जानकारी २ दिनभित्र उपलब्ध गराउनु पर्ने अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने नेविसंघले चेतावनी पनि दिएको छ ।