नेपालको राजनीतिमा शनिबार बिहानै अनौठो जस्तो देखिने राजनीतिक घटनाक्रम भयो । नेपालमा यसअघि चैं यस्तो अभ्यास कमै थियो । यद्यपि बिश्वको कयौं देशमा भने यस्ता राजनीतिक घटनाक्रमहरु हुने गरेका थिए र भइरहेका पनि छन् ।नेपालमा अलिक अनौठो जस्तो लाग्ने घटनाक्रम भयो । मुख्यतः गत भदौ २३ र २४ गते भएको नयाँ पुस्ताको आन्दोलनका क्रममा दमन गरेको भन्दै तत्कालिन समयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रहरीले पक्राउ गरेको छ । केपी ओली र रखेक लेखक पक्राउ पर्नु नेपालको सन्दर्भमा भने अनौठो नै घटनाको रुपमा लिनु पर्दछ ।
मुख्यतः गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिध सभाको चुनावले रास्वपालाई दुई तिहाइ नजिकको मत दिएपछि उसैको नेतृत्वमा सरकार बनेको २४ घण्टा पनि बित्न नपाउदै ओली र लेखक पक्राउ परेका हुन् । अब यो घटालाई जसले जसरी पनि ब्याख्या गर्न पाइन्छ र मिल्छ पनि । एमालेले यस घटनालाई हिजो रबि लामछानेलाई केपी ओलीको पालामा पक्राउ गरेर हिरासतमा पठाएका कारण त्यसैको बदलामा आज पक्राउ गरियो पनि भनेको छ र यो कुरा कत्तिको जायज छ त्यो आफ्नै ठाउँमा होला ।
अब, सवाल चैं के हो भने २३ गतेको सवालमा भौतिक जिम्मेवारी ओली र लेखक कत्ति दोषी छन् त्यो त अनुसन्धानबाट आउला तर नैतिक जिम्मेवारी उनीहरुको हो । यदि २३ गतेको नैतिक जिम्मेवारी उनीहरुको हो भने २४ गते कसेको हो ? अनि गौरीबहादुर कार्की आयोगले टिओबी भन्ने समूहका सदस्यलाई पनि फौजदारी अभियोग चलाउन भनेको छ, त्यसका कति सदस्य पक्राउ परे र के के कारबाही भयो त्यो सरकारले बताउनुपर्छ अनि सहकारीका सवालमा जिबी राईहरु कहाँ छन् ? त्यो पनि सरकारले नागरिकलाई जानकारी गराएर पक्राउ गरेर कारबाही गर्नुपर्छ । अन्यथा ओली र लेखकको पक्राउले मात्रै केही हुन सक्दैन र यसले कानुनी राज्य स्थापना र देशमा शान्ति पनि आउदैन ।















