बारा । बाराको विश्रामपुर गाउँपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–५ का २२ वर्षीय विशाल सहनी र २६ वर्षीय रोशन कुशवाहा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१२ प. ३७१६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

जाँचका क्रममा मोटरसाइकलको अगाडिको भाइजरभित्र प्लास्टिकको पुडियामा लुकाएर ल्याइएको अवस्थामा ४.५१ ग्राम ब्राउन सुगर बरामद भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय प्रसौनीको हिरासतमा राखिएको छ । उनीहरूमाथि जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply