रौतहट,घरघरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई भएको निर्णय बदर हुनुपर्ने माग गर्दै कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरूले तालाबन्दी गरेका छन् ।उपमेयर रितादेवी यादवको नेतृत्वमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, २ का वडा अध्यक्ष हरेन्द्र साह, ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी, ७ का महमद सहिद, वडा सदस्य रामेश्वर यादव लगायतको टोलीले मङ्गलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर नगरपालिका कार्यालयमा तालाबन्दी गरेको हो ।

जनप्रतिनिधिहरूले मेयर अजयप्रकाश जैसवाल, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा पनि तालाबन्दी गरेका छन् । मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने षडयन्त्र भइरहेकोभन्दै उनीहरूले तालाबन्दी गर्नुपरेको बताएका छन ।तालाबन्दीपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनप्रतिनिधिहरूले मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरू सदर गराउन अहिले कार्यालय सहयोगीमार्फत राती राती कार्यपालिका सदस्यहरूको घरमा पुगेर हस्ताक्षर गराउने कार्य भइरहेको बताएकाछन । मेयर जैसवालले कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभनमा पारेर हस्ताक्षर गराएको कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गर्नुभएको छ ।

मेयर जैसवालको निर्देशनमा गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो । बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन । बैठकमा केही वडा अध्यक्षसहित केही कार्यपालिका सदस्यहरूले मात्रै उपस्थितिमा हस्ताक्षर गरेका थिए । तर सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै सो बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताउनुभयो । सोही सूचना अनुसारको पुस ८ गतेको बैठकमा मेयर र अधिकृत नगरपालिकामा अनुपस्थित रहेको र फोनमा सम्पर्क गर्दा बाहिर छु भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो ।

यसैबीच मेयर जैसवालको इसारामा गत मङ्सिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यहरूको हस्ताक्षर गराउने खेल भइरहेको उपमेयर यादवले जानकारी दिनुभयो ।कटहरिया नगरपालिकाको ९ वटै वडामा झन्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए । करारका कर्मचारीहरूले विगत २० महिनादेखिको तलब पाएका छैनन् । तर मेयर जैसवालले उनीहरूलाई तलब ख्वाउनुको सट्टा केही दिनअघि बिना सरसल्लाह एकलौटी रुपमा एकैपटक सबैलाई बर्खास्त गर्ने निर्णय गर्नुभएको थियो ।कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि मेयर जैसवालले पुराना कर्मचारीलाई बर्खास्त गरिएको आरोप छ । गत मङ्सिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर नभएसम्म तालाबन्दी यथावत् रहने जनप्रतिनिधिहरूले अडान राखेका छन् । उनीहरुले सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरेका छन ।

Leave a Reply