निजगढ,निजगढ नगरपालिकाले नगर क्षेत्रका खोलाबाट निषेधित अवधिमा अबैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्नेमाथि कारबाही गर्ने जनाएको छ ।नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले शुत्रवार एउटा सूचनामार्फत असार १ गतेदेखि भाद्र मसान्तसम्म नदी उत्खनन गर्न नपाईने व्यवस्था भएकोले सो अवधिमा निजगढ नगर क्षेत्रभित्रका नदी, खोला, खोल्सीहरुबाट नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ओसारपसार कार्य गर्नेमाथि कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
‘सूचनाको बर्खिलाफ हुने गरी कार्य गरेको पाइए मधेश प्रदेश सरकारको आर्थिक ऐन, २०८१ को अनुसूची ८ तथा यस निजगढ नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम कानूनी कारबाही हुनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले हस्ताक्षर गरेर जारी गरेको सूचनामा भनिएकोछ, निषेधित अवधिमा उत्खनन गर्नेमाथि नगरपालिकाको ढुुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा निजगढ नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७९ को दफा ६ को १४ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तरअनुसार कारबाही र जरिवान हुने छ ।’त्यसैगरी नगरपालिका कार्यालयले अर्को एउटा सूचना निकालेर नगरबाहिरबाट चौपाया खरिद गर्दा लम्फी स्कीन रोग विरुद्धको खोप गाईमात्रै खरिद गर्न किसानहरुसंग आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले हस्ताक्षर गरेर शुक्रवार नै जारी गरेको सो सूचनामा देशका विभिन्न जिल्लाहरुमा गाईमा लाग्ने लम्फी स्कीन रोग महामारीको रुपमा फैलँदै गएको र निजगढमा पनि सो रोगको संक्रमण फैलनसक्ने भएकोले नियन्त्रणको लागि नगरबाहिरबाट खरिद गरेर ल्याइने पशुमा खोप लगाएको हुनुपर्ने बताउनुभएको हो ।सूचनामा चौपायमा नगरका किसानले पालेको गाईमा लम्फि स्किन रोगको लक्षण देखापरे नगरपालिका कार्यालयका पशु विकास अधिकृत युगल किशोर सिंहको मोबाइल नम्बर ९८५५०४४४४९१ मा सम्पर्क गरी तत्काल खोप लगाउन र रोगबाट थप जटिलता सृजना हुन नदिन पनि अधिकृत अर्यालले आग्रह गर्नुभएको छ ।
















