काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाउनुभएको छ ।शनिबार ललितपुरमा पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको टिप्पणी गर्नुभएको हो ।‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख÷उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ’ उहाँले भन्नुभयो ।संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंग भनेको भन्दै उहाँले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने बताउनुभयो । ‘संविधानले एउटा, एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? गर्नैपर्छ नि । अब आजसम्म पनि दश दलीय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा । पुरुष हुन्छ भने महिला’ ओलीले भन्नुभयो ।

















