सिमरा,भूमि सम्बन्धी समस्या समाधान आयोग बारा र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त पहलमा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच प्रक्रिया सुरु भएको छ।उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेका करिब ८०० बिगाहा क्षेत्रफलको अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्न आयोगका प्राविधिकहरुले आइतवारबाट जमिनको चेकजाँच तथा नापजाँच सुरु गरेका हुन ।
कार्यक्रमकी प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम पूर्वमन्त्री तथा संघीय सांसद ज्वालाकुमारी साहले वर्षौंदेखि जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रतीक्षामा रहेका सर्वसाधारणले अब चाढै नै धनीपुर्जा पाउने बताउनुभयो । उहाँले आयोगले तदारुकताका साथ काम गर्नुपर्ने र आयोगको काममा सबैलेगर्नुपर्ने पनि बताउनुभयो ।कार्यक्रममा नगरप्रमुख राजन पौडेलले उपमहानगरपालिकाबाट थप प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै छिटोछरितो कामका लागि ३÷४ वटा टोली बनाएर काम गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठ, कांग्रेस नगर सभापति छवि शर्मा, एमाले नगर अध्यक्ष त्रिलोकविक्रम ठकुरी, लोसपा प्रतिनिधि, आयोग बाराका पूर्वविज्ञ सदस्य केदार गौतम, जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, पूर्वअध्यक्ष केदार बजगाई, स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोग बारा अध्यक्ष भरतबहादुर घलेलेसबै पक्षलाई समेटेर विवादरहित ढंगले आयोगले काम अगाडि बढाउने बताउनुभयो । उहाँले सो क्षेत्रको जमिनको नापजाँचको काम पूरा भएपछि धनीपुर्जा निर्माण गर्ने कार्य सुरु गरिने र यसको लागि डेढदेखि दुई महीना समय लाग्नसक्ने जानकारी दिनुभययो ।


















