निजगढ,निजगढ नगरपालिका– ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीस्थानबाट चोरी भएको ८५.७० क्यूफिट सालको गोलियासहित एकजना पक्राउ परेका छन ।वन समूहको कार्यालय भवनबाट पूर्वतर्फ रहेको विद्युुत प्राधिकरणको हाइटेन्सन लाइनमुनिको घाटगद्दीबाट शुक्रवार बिहान चोरी भएको नौ थानसालको गोलियासहित ना.२च ९३१९ नम्बरको बलेरो जीप र सो जीप चालक जीतेन्द्र चौधरीलाई डिभिजन वन कार्यालय रौतहटको वन गस्ति टोलीले नियन्त्रणमा लिएको हो ।

वन समूहको काठ चोरी गरी बलेरो जीपमा राखेर रौतहटको चन्द्रतर्फ लैजादै गरेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटको टोलीले पूर्वपश्चिम राजमार्गको धन्सार पुलपारिको जंगलबाट बिहान ४ बजे काठ र जीपसहित चौधरीलाई नियन्त्रणमा लिएको जनज्योति वन समूहका अध्यक्ष खड्गबहादुुर मोक्तानले जानकारी दिनुभयो । अध्यक्ष मोक्तानका अनुसार जीपको पाङ्ग पन्चर भएपछि सडक किनारामा रोकेर राखेको अवस्थामा रौतहटबाट गस्तिमा आएको वन सुरक्षाकर्मीको टोलीले चेकजाँच गर्दा गोलिया बरामद भएको थियो । चोरीको काठसहित जीप र चालक चौधरीलाई नियन्त्रणमा लिएको खबर पाएपछि शंका लागेर समूहका पदाधिकारीले घाटगद्दी स्थानमा गएर हेर्दा काठ चोरी पाइएको अध्यक्ष मोक्तानले बताउनुभयो । गत वर्ष कटान गरी उपभोक्तालाई बिक्रीका लागि घाटगद्दीमा नम्बरिङ गरेर राखिएका गोलियामध्ये धाङ्ग नम्बर ९ बाट ६ थान, धाङ्ग नम्बर २ बाट २ थान र धाङ्ग नम्बर १० को १ थान गोलिया चोरी भएको अध्यक्ष मोक्तानले बताउनुभयो ।पक्राउ परेका चौधरीमाथि डिभिजन वन कार्यालय रौतहट र बाराले कारबाही अघि बढाएको निजगढ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत रघुनाथ दासले जानकारी दिनुभयो ।

Leave a Reply