कलैया,बारामा स्वास्थ्य मापदण्ड विपरित माक्स प्रयोग नगरी हिडडुल गर्नेलाई प्रशासनले एक सय जरिवाना गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा मंगलवार बसेको बैठकले मास्क नलगाई हिड्नेलाई यस्तो कारवाही गरिने निर्णय गरेको हो । अहिले विश्वभर नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो चरणको लहर निकै नै कहरको रुपमा बढदै गरेको अवस्थालाई मध्य नजर गर्दै जिल्लाका सार्वजनिक निकाय सहित अन्य ठाँउहरुमा काम विशेषले बाहिर जादा माक्स अनिवार्य लगाई आफु बच्ने र अरुलाई पनि बचाउने काममा सहयोग गर्न समितिले जिल्लाबासीहरुलाई आग्रह समेत गरेको छ । जिल्लामा कोभिड १९ बढने जोखिम कायमै रहेको हुदा पूर्वतयारीका लागि कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित गंगापुर शैक्षिक तालिम केन्द्रको छात्राबासमा ५० बेडको आइसोलेसन संचालनमा ल्याउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिनुभएको छ । भौतिक पुर्वाधारका साधन (बेड, टेबल, फैन, बत्ति इत्यादीको खर्च कलैया उपमहानगरपालिकाले बेहोर्ने र अन्य आवश्यक व्यवस्थापन कलैया अस्पतालले गर्ने गरि जिम्मेवारी समेत प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले होम आइसोलेसनमा बसेका संक्रमितहरु स्वीकृत प्रोटोकल बसे नबसेको अनुगमन गर्न टोल सुधार समितिको सहयोग लिई सम्बन्धित पालिकाको वडा समितिले गर्ने र यदि संक्रमितहरु सुरक्षित रुपमा नबसी गाँउटोलमा घुमफिर गर्ने गरेको पाइएमा निजहरुलाई आइसोलेसनमा ल्याई बुझाउने समेत निर्णय भएको समितिका सदस्य प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी गराएउनुभयो । बैठकले संक्रमितहरुलाई आवश्यकता अनुसार आइसोलेसन सेन्टर वा अस्पतालमा उपचारमा लैजादा प्रयोग गर्ने एम्बुलेन्सको व्यवस्थापन जनस्वास्थ्य कार्यालय र कलैया अस्पतालले गर्ने निर्णय गर्नुको साथसाथै होटल संचालनको समय बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कायम गरिएको र स्वास्थ्य मापडण्ड अनुसार चलेको नचलेको अनुगमन गर्न बारा उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय भएको छ । मन्त्री परिषदको बैशाख ६ गतेको निर्णयलार्य पनि जिल्लामा प्रभावकारीसंगै कडाईको रुपमा पालना गर्ने गराउने निर्णय भएको छ । बैठकमा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रसस सोसाईटीका अध्यक्ष राजेन्द्र सिंह खड्का, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव, कलैया अस्पतालका प्रमुख गौरब महतो, प्रहरी उपरीक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरीका नायव उपरीक्षक निरंजन भंण्डारी, ज्वालदल गणका गणपति सुरेन्द्रप्रसाद रावल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here