वीरगंज । सरसफाइ कर्मचारी धर्मेन्द्र राउत र स्वयंसेविका मन्जुदेवी कटवालको निधनमा वीरगन्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
दुवै कर्मचारीको निधनप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज बन्द गरेको जनाएको छ ।
महानगरपालिकाले शुक्रबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी दिवंगत राउत र कटवालप्रति सम्मान व्यक्त गरेको थियो । कार्यक्रममा महानगरप्रमुख राजेशमान सिंह, प्रशासन प्रमुख किर्तिराज सुवेदीलगायतले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निधनले महानगरपालिकालाई अपूरणीय क्षति पुगेको बताएका थिए ।
कार्यक्रममा दिवंगत दुवै जनाले महानगरपालिकाको सेवामा पुर्याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।
महानगरपालिकाले दिवंगत दुवै जनाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।
















