सिरहा । सामाजिक सञ्जाल टिकटकमा नक्कली खाता खोली स्थानीय व्यक्तिहरूका तस्बिर तथा भिडियो अश्लील गीतसँग जोडेर सार्वजनिक गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले परिवारका सदस्यसहित गाउँका अन्य व्यक्तिहरूको तस्बिर प्रयोग गरी फेक टिकटक आईडी बनाएका थिए। उक्त खाताबाट अश्लील गीतमा तस्बिर तथा भिडियो जोडेर प्रसारण गरी चरित्रहत्या र व्यक्तिगत गोपनीयतामा असर पुर्‍याएको भन्दै पीडितले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा प्रहरीले कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइल प्रयोग गरी नक्कली टिकटक खाता बनाएको र त्यसबाट सामग्री प्रसारण गरेको स्वीकार गरेका छन्।

उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply