सर्लाही । सर्लाहीको हरिवन बजारस्थित एक सुनचाँदी पसलमा चोरी गरी फरार भएका दुई भारतीय नागरिकलाई प्रहरीले चोरीका गरगहना तथा औजारसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ४ बजे हरिवन नगरपालिका–११ स्थित सुरज साहले सञ्चालन गर्दै आएको रिद्धि सिद्धि ज्वेलर्समा चोरी भएको थियो।
पसलमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो। खोजतलासका क्रममा हरिवन नगरपालिका–११ मा कबिन कार्कीको घरमा डेरा गरी बस्दै आएका दुई भारतीय नागरिकलाई चोरी भएका गरगहनासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, आदापुर थाना क्षेत्रअन्तर्गत औरहिया पञ्चायत वडा नं. ११ निवासी २५ वर्षीय जुनैद अंसारी र झरोखर थाना क्षेत्रअन्तर्गत आठमोहनी पञ्चायत वडा नं. १२ निवासी २८ वर्षीय रियाज अंसारी रहेका छन्।
प्रहरीले उनीहरू बस्दै आएको कोठाबाट चोरी भएका विभिन्न प्रकारका सुनका गरगहना तथा चोरीमा प्रयोग गरिएका औजार बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

















