बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त गस्तीका क्रममा ती चौपाया नियन्त्रणमा लिएका हुन्।

भारतीय सञ्चार तथा सुरक्षा स्रोतका अनुसार बारासँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारी क्षेत्रमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीले बिहीबार बिहान करिब २:१५ बजे संयुक्त रूपमा सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा चौपाया बरामद गरेका हुन्।

प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त गस्ती टोलीले भारतको इनर्वा ९लरहाटोला० गाउँनजिकै नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा ती चौपाया फेला पारेको एसएसबीले जनाएको छ।

बरामद गरिएका १० वटा चौपायामध्ये तीनवटा गाई, चारवटा बाच्छा र तीनवटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ लैजाँदै गरिएको थियो।

रातको अँध्यारोको फाइदा उठाउँदै चौपाया तस्करीमा संलग्न व्यक्तिहरू नेपालतर्फ भागेको र उनीहरूलाई पक्राउ गर्न नसकिएको जनाइएको छ।

बरामद गरिएका सबै चौपाया आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चौपाया तस्करी नियन्त्रण गर्न सूचनाका आधारमा निगरानी तथा संयुक्त गस्ती सञ्चालन गर्दै आएको एसएसबीको ७१औँ बटालियन मुख्यालय पिपराकोठीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले निगरानीलाई निरन्तरता दिएको जनाइएको छ।

Leave a Reply