सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवले सुशासनलाई आधार बनाएर देशमा शान्ति र समृद्धि कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सिरहा नगरपालिका–१९, सनहैठामा आयोजित सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सुशासनको जग बलियो नभएसम्म शान्ति र समृद्धि सम्भव नहुने बताए। उनले वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।

यादवले स्थानीय जनताका समस्या बुझ्न र तिनको समाधानका उपाय खोज्न रास्वपा गाउँटोलसम्म पुगिरहेको बताए। जनताबाट प्राप्त सुझावका आधारमा विकासका योजना अघि बढाइने उनको भनाइ थियो।

उनले मधेश प्रदेशका आठवटै जिल्लामा शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, कृषि, धार्मिक तथा पर्यटकीय स्थलको विकास र सामाजिक न्यायका क्षेत्रमा सन्तुलित विकास हुन नसकेको विषय जनस्तरबाट उठिरहेको बताए।

स्थानीय नागरिकबाट प्राप्त सुझावलाई समेटेर विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यादवले स्थानीय तहको निर्वाचनमा सुशासन कायम गर्दै विकास गर्न सक्ने उम्मेदवार छनोट गरिने बताए।

वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको उल्लेख गर्दै यादवले सरकारलाई सही दिशामा अघि बढाउन नागरिकले निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताए।

उनका अनुसार जनताको सुझाव, सहभागिता र निगरानीले सरकारलाई जिम्मेवार बनाउन तथा सुशासन कायम गर्न सहयोग पुग्नेछ।

Leave a Reply