निजगढ,केरा बालीको बीमा सुचारु हुनुपर्ने माग गर्दै निजगढका केरा उत्पादक किसानहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।कृषि तथा पशुपंक्षी मन्त्रालयले किसानको माग पुरा गर्ने आश्वासन दिएपछि किसानले आइतवारबाट गर्ने भनेर घोषणा गरेको सडक अन्दोलन अनिश्चतकालको लागि रोकिएको बारा फलफूल तथा केरा उत्पादक व्यवसायी संघका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।
यसअघि संघको नेतृत्वमा निजगढका किसानहरुले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख अधिकारी छविरमण भट्टराई र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीलाई गत भाद्र १५ गते ज्ञापन पत्र बुझाएर केराबालीको बीमा कार्य सुचारु नगरिए आगामी भाद्र २३ गतेबाट सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
संघको आह्वानमा निजगढमा भएको किसानहरुको भेलाले माग पुरा नभए आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । संघीय सरकारको सहयोगमा बीमा समितिमार्फत बीमा कम्पनीको ८० र किसानको २० प्रतिशत रकम लगानीमा विगतका वर्षहरुमा केरा बालीको बीमा हुँदैआएकोमा यस वर्ष भने बीमा कम्पनीहरुले सोही अनुरुप केरा बालीको बीमा गर्न इन्कार गरेपछि मार्कामा परेका किसानहरु आन्दोलित भएका हुन ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा साना किसानको लागि मात्रै ८० प्रतिशत अनुदानमा केरा बालीको बीमा गर्ने उल्लेख गरेपछि बीमा कम्पनीहरुले मन्त्रालयबाट साना किसानको स्पष्ट मापदण्ड तोकेर आएपछि मात्रै गर्नेभन्दै देशभरि नै केरा बालीको बीमा गर्न इन्कार गर्दैआएका छन । किसानहरुको मागपछि मन्त्रालयले साना किसानको स्पष्ट मापदण्ड खुलाएर बीमा कम्पनीमा पत्र पठाउने तयारी गरेको बताइएको छ ।


















