बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ धनसार खोलास्थित भालुघाट झोलुङ्गे पुलको निर्माण कार्य १५ प्रतिशत पूरा भएको छ । झोलुङ्गे पुलको निर्माण कार्य गएको प्रतिनिधि सभाको निर्वाचन लगत्तै सुरु गरिएको थियो ।निर्माणाधीन झोलुङ्गे पुलको लम्बाई ११९.८० मिटर चौडाई १.५ छ । झोलुङ्गे पुल निजगढ नगरपालिका र हेल्भटाँसको सहकार्यमा निर्माण गरिएको इन्जिनियर ओमप्रकास चौधरीले जानकारी दिनुभयो ।झोलुङ्गे पुलको कुल लागत १ करोड २७ लाख रुपैयाँ छ । हालसम्म २५ लाख रुपैयाँ अर्थात करिब १५ प्रतिशत कार्य सम्पन्न भएको छ ।खोलामा पुल नहुँदा बर्खामा सिंगौलका स्थानीय लगायत छिमेकी जिल्ला रौतहटको चंन्द्रपुरनगरपालिका वडा नम्बर ३ अरुण बस्ती, भालुखोप, पुरानो नर्सरी, इपिल बस्ती लगायत मकवानपुरका स्थानीयले सास्ति व्यहोर्नु परिरहेको छ ।जनताले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सिंगौल र चन्द्रपुरका समाजसेवी एवंम बुद्धिजीवी, राजनीतिक दल र वडा नम्बर १ को पहलमा निजगढ नगरपालिका र हेल्भटाँसको सहकार्यमा पुल निर्माण सुरु गरिएको हो ।झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष नै सम्झौता गरिएको थियो । निर्माण कार्यमा नगरपालिकाले चासो नदिँदा १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको प्रगति जम्मा १५ प्रतिशत मात्र हासिल भएको छ ।पुल निर्माण भएपछि स्थानीय सर्वसाधारणलाई भन्दा सो क्षेत्रका विद्यार्थी बढी लाभान्वित हुनेछन ।बर्खा लागेपछि हरेक वर्ष धनसार खोलामा आउने बाढीको कारण खोला तर्न नसक्दा विद्यार्थीको पठनपाठनमा समेत बाधा पुग्ने गरेको छ । उक्त समस्या समाधान गर्ने उद्देश्यले झोलुङ्ग पुल निर्माण गर्न लागिएको पुल निर्माण समिती को अध्यक्ष कान्छा लाल थोकरले बताउँनुभयो ।निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा ६० प्रतिशत विद्यार्थी धन्सार खोलापारि अरुण बस्ती, भोलनटार, इपिल बस्ती, ढिकीफेदी, राजुवा, धोबी खोलाका विद्यार्थी अध्यनरत रहेको विद्यालयका कायममुकायम प्रधानाध्यापक बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न र टिकाउनको लागि पनि धनसार खोलामा पुल अनिवार्य आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योन्जनको भनाइ छ ।



















