सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा बुधबार राति गस्ती टोलीले गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत सीमा सुरक्षा पोस्ट (बीओपी) नवराजपुरबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले राति करिब १२ बजे गाँजा बरामद गरेको जनाएको छ। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका थिए।

गस्तीका क्रममा झाझपट्टीस्थित सीमा क्षेत्रमा केही व्यक्तिले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोली पुगेको थियो। प्रहरीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू ९ बोरा गाँजा छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीका अनुसार कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको गाँजाको प्लास्टिकसहित कुल तौल १५२ किलो १६० ग्राम रहेको छ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुमन जंग थापाले बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन्।

सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको छ।

Leave a Reply