वीरगञ्ज –  पर्साको ठोरी गाउँपालिका र चितवनको माडी क्षेत्रलाई जोड्ने ठोरी–माडी सडकखण्डमा आज बिरामी बोकेको एउटा एम्बुलेन्स खोलाको बाढीले बगाएको छ । ठोरी गाउँपालिका– ४ का बिरामी रोहन लामालाई बोकेर उपचारको लागि चितवनतर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ झा ०१४७ नम्बरको महिन्द्रा एन्ड महिन्द्रा एम्बुलेन्स जंगल क्षेत्रको खोलामा आएको बाढीले बगाएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडीस्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को सानो खोला हो । एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उहाँको भनाइ छ । उद्धारपछि बिरामीलाई अर्को एम्बुलेन्समार्फत उपचारका लागि चितवनतर्फ पठाइएको बताइएको छ । बाढीमा परेर बीचमै अलपत्र परेको एम्बुलेन्सलाई जेसीबीको सहयोगमा बाहिर निकालिएको थियो ।

घटनाले ठोरी–माडी सडकखण्डको वर्षायामको जोखिमलाई पुनः सतहमा ल्याएको छ । बर्खा लागेसँगै सडकखण्डका विभिन्न खोलामा पानीको बहाव बढ्ने, सडक हिलाम्मे हुने तथा कतिपय स्थानमा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।

स्थानीयका अनुसार यस क्षेत्रबाट दैनिक रूपमा सयौँ नागरिक बस, मोटरसाइकल तथा अन्य साना सवारीसाधनमार्फत आवतजावत गर्ने गरेका छन् । तर सडकमा पर्याप्त पुल तथा पूर्वाधार नहुँदा सामान्य अवस्थामा समेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

त्यसैगरी, निकुञ्ज तथा जंगल क्षेत्र हुँदै यात्रा गर्नुपर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत रहेको स्थानीयले बताएका छन । विशेषगरी बिरामी तथा आपत्कालीन अवस्थामा रहेका नागरिकलाई अस्पतालसम्म पु¥याउन समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

ठोरी तथा बादरझुला क्षेत्रका बासिन्दाले वर्षौंदेखि सडक र पुल निर्माणको माग गर्दै आए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन् । हरेक चुनावताका ठोरी–माडी सडक तथा यस क्षेत्रका पुल र सडक निर्माणको मुद्दा उठ्ने गरे पनि पूर्वाधार निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।

स्थानीयवासीले ठोरीदेखि माडीसम्म बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक तथा आवश्यक स्थानमा स्थायी पुल निर्माण, जंगल क्षेत्रमा यात्रु सुरक्षाको भरपर्दो व्यवस्था तथा आपत्कालीन अवस्थामा बिरामीलाई सहज रूपमा अस्पताल पु¥याउने यातायात र स्वास्थ्य पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समाजसेवी धीर सिंहलगायतले ठोरी–माडी सडकखण्डको समस्या तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply