पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाका किसान शिवकुमार कार्कीले धान बालीमा हाल्नको लागि युरिया मल खोज्न थाल्नु भएको एक हप्ता भयो । तर उहाँले अझै पनि मल पाउनु भएको छैन । ‘धान गोडियो, पानि पानी परिरहेको छ, धानको गाँझ पनि फैलिन थालिसक्यो, कार्कीले भन्नुभयो, तर युरियामल हाल्नु पर्नेमा मल नपाएर समस्या भएको छ ।’ धान खेतमा हाल्ने मल बजारमा नपाएर तनावमा परेको कार्कीले सुनाउनुभयो ।

यस्तै कलैया उमहानगरपालिका वडा नम्बर २४ श्रीपुरकी मन्जु चौधरीले पनि युरिया मल नपाएको कारण हाल्न नपाएर धानको उत्पादन घट्ने चिन्ता बढेको बताउनुभयो । ‘धानमा मल हाल्न बितिसक्यो, उहाँले भन्नुभयो, चारैतिर खोजी सकियो कतै पाइएको छैन ।’ चौधरीले भन्नुभयो । चौधरीले यो वर्ष एक बिगाह जमिनमा धान खेति गर्नुभएको छ ।

 

चौधरी र कार्की जस्तै जिल्लाका हजारौं किसान यतिबेला युरिया मल नपाएर तनावमा देखिएका छन् । खेती लगाउने समय बर्षाभरी सहजरुपमा मल उपलब्ध गराउदै आएको सहकारी संस्थाहरुले यतिखेर भने किसानलाई मल दिन छाडेका छन् । सहकारीमा मल भएर किसानलाई नदिएको नभै कृषि सामग्री संस्थानले नै उपलब्ध गराउन नसकेपछि मलको अभाव सृजना भएको सहकारीका प्रतिनिधिहरुले बताएका छन ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थितसाना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष फुलकुमारी बस्नेतले केहीदिन अघिबाटै नै मलको अभाव भएको बताउनुभयो । उहाँका अनुसार धान गोड्न सुरु गरेसँगै युरिया मलको माग ह्वात्तै बढेको तर सरकारले मल उपलब्ध नगराएका कारण किसानलाई वितरण गर्न नसकिएको उहाँको भनाइ छ ।

नेपाल सरकारले कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ्ग कम्पनीमार्फत किसानलाई सहुलियत मुल्यमा रसायनिक मल बिक्री, वितरण गर्दै आएको छ । तर ती कम्पनीहरुले मध्य सिजनमा मल दिन नसक्ने जनाएको बस्नेतले बताउनुभयो । ‘सहकारीमा मल लिन आएका धेरै किसान नपाएपछि निरास हुँदै फर्किरहेका छन् ।’ बस्नेतले सुनाउनु भयो ।

 

उता युरिया मल आएको खबर सुनेर स्थानीय सहकारीमा पुग्नुभएका कोल्हबी नगरपालिका वडा नम्बर ८ बोधवनका किसान शिवजी खड्काले पनि मल पाउन सक्नु भएन । ‘मलाई पाँच बोरा मलको आवश्यकता थियो, संस्थामा १५ दिनमा बल्लतल्ल ४० बोरा युरिया मल आएको रहेछ, खडकाले भन्नुभयो, संस्थामा मल लिन आउनेको संख्या दुई सयजना भन्दाबढी थियो, धेरैले पाएन रित्तो हात घर फर्किनु पर्यो ।’

सहकारी डिलरमार्फत किसानलाई मल बिक्री वितरण गर्दै आएको कम्पनीले माग बमोजिम आपूर्ति गर्न नसक्दा युरिया मलको हाहाकार भएको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताउनुभयो ।

यता, कृषि सामग्री कम्पनी लिमिटेडको बारा कार्यालयका प्रमुख पुरुषोत्तम् सिंहले मल वितरण भइरहेको जनाउनुभएको छ । ‘तर किसानले मागेको जति भने दिन सकेका छैनौं, उहाँले भन्नुभयो । युरिया मलको माग अधिक भएपनि आपूर्ति न्युन भएको र आपूर्तिको आधारमा वितरण भइरहेको सिंहले बताउनुभयो ।

कार्यालय प्रमुख सिंहका अनुसार कलैया कार्यालयलाई प्राप्त २ हजार ७ सय बोरा युरिया मल जिल्लाका १६ पालिकाका लागि वितरणको लागि पत्राचार भएको छ । उक्त परिमाणको मल वडागतरुपमा वितरण गर्दा एउटा वडामा जम्मा ५ देखि १० बोराका दरमा हुन आउँने देखिएको उहाँले सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here