निजगढ,बाराको महागढीमाई नगरपालिका नगरवासी तथा अन्यसेवाग्राहीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।नगरपालिकालेएउटा सूचना सार्वजनिक गरेर विशेष अवस्थाहरूका बिरामीहरुको लागि पालिकाको २ वटा एम्बुलेन्सबाट निःशुल्कसेवा प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हो।

सूचनामा क्यान्सरका बिरामी (केमोथेरेपी गराइरहेका), हृदयघात भएका तथा डायलाइसिस गराइरहेका बिरामीलाई एकतर्फी रूपमा चितवन वा काठमाडौंसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था गरिएको जनाइएको छ।
त्यस्तै सुत्केरी महिलालाई महागढीमाई नगरपालिकाभित्र पायक पर्ने बर्थिङ्ग सेन्टरसम्म निःशुल्क पुर्याइनेछ र बर्थिङ्ग सेन्टरबाट बिरामीलाई रेफर गरिएको अवस्थामा कलैया वा वीरगञ्जसम्म निःशुल्क सेवा उपलब्ध गराइने सूचनामा भनिएको छ ।अन्य बिरामीहरूले भने नगरपालिकाको पायक पर्ने स्वास्थ्य केन्द्रसम्म एकतर्फी रूपमा निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले हस्ताक्षर गरेर जारी गरेको सो सूचनामा एम्बुलेन्स चालकको नाम र सम्पर्क नम्बर पनि खुलाइएको छ । सेवा लिने बिरामीले आफ्नो पहिचान खुल्ने नागरिकताको प्रतिलिपि वा नेपाल सरकारले प्रमाणित गरेको अन्य कुनै आधिकारिक कागजातको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने र यदि तोकिएको सर्त विपरित कसैले सेवा लिएको वा दुरुपयोग गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिले नै प्रचलित भाडादरअनुसार शुल्क तिर्नुपर्नेछ नगरपालिकाले जनाएको छ ।

Leave a Reply