निजगढ – नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १ को क्षेत्रीय समिति, प्रदेश समिति र महाधिवेशन प्रतिनिधि चयन अझै अनिर्णित बनेको छ । निजगढमा आइतवार भएको अधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु बन्न चाहनेको संख्या निर्धारित कोटाभन्दा निक्कै बढी भएपछि बन्द सत्रले प्रतिनिधिहरुको चयन गर्ने जिम्मा काँग्रेस केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकी, ममता शर्मा, मधेस प्रदेशका कार्यवहाक सभापती चन्द्रशेखर यादव र क्षेत्र नम्बर १ मा पर्ने ५ वटै पालिकाका सभापतीहरु रहेको निर्वाचन समितिलाई दिएको थियो ।
निर्वाचन समितिले आइतवार रातिदेखि नै गृहकार्य गर्दैआएको भएपनि पदाधिकारीहरुको नाम आज राति अबेरसम्म पनि अझै टुङ्ग्याउन नसकेको अन्यौलता बढेको बताइएको छ । स्रोतका अनुसार कार्यसमितिका पदाधिकारी र पदाधिकारीहरुको अन्तिम नामावली तयार पार्न समितिका सदस्यहरु आइतवारदेखि नै कलैयामा बसेर छलफल गरिरहेका छन ।
अधिवेशनले क्षेत्रीय र २ वटा प्रदेश समितिका पदाधिकारी सहित ३६ जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने छ ।
स्रोतका अनुसार समितिले क्षेत्र नम्बर १ को सभापतीमा निजगढका महेशी कुवर र प्रदेश सभा १ को सभापतीमा निजगढकै सूर्य घलानलाई सभापतीमा चयन गर्नेे तयारी गरेको छ । निजगढ नगर सभापतीको आकांक्षी रहनुभएका घलानलाई प्रदेश सभा १ को सभापती बनाउने सहमतिपछि निजगढ नगर कार्यसमितिमा पदाधिकारीहरुको सर्वसम्मत चयन शंभव भएको थियो । त्यसैगरी प्रदेश सभा २ को सभापतीमा भने सिम्रौनगढका मोहन कुशवाहाको नाम चर्चामा छ ।
यसैबीच बारा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उपेन्द्रप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादव सर्वसम्मतिबाट क्षेत्रीय सभापतिमा चयन हुनुभएको हो । उहाँ महागढीमाई नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्छ । यसैगरी क्षेत्र २ क को प्रदेश क्षेत्र सभापतिमा शशिकान्त मिश्रा र २ ख को सभापतिमा ललन यादव चयन भएका छन । महाधिवेशन प्रतिनिधिमा राजेश रौनियारसहित प्रदेश अधिवेशन प्रतिनिधिहरुको पनि निर्विरोध चयन गरिएको जनाइएको छ ।















