सिमरा –  पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर नजिक पुनः निर्माण गरिएका घरटहरा भत्काउन सोमबार बिहान पुगेको डिभिजन वन कार्यालयको टोली घरटहरा नभत्काइ फर्किएको छ । सुरक्षाकर्मी, वनरक्षक र डोजरसहित पुगेको टोली जनप्रतिनिधि तथा स्थानीयको आग्रहपछि घरटहरा नभत्काइ फर्किएको हो ।

चाडपर्वको समयमा उठिबास लगाउन नहुने तर्क गर्दै स्थानीय र जनप्रतिनिधिहरूले पर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर मात्रै आवश्यक निर्णय लिन आग्रह गरेका थिए । पुल नजिकका घरटहरा हटाउने वा राख्ने भन्ने विषयमा चाडपर्वपछि निष्कर्षमा पुग्नुपर्ने उनीहरूको भनाइ थियो ।

आग्रहपछि वन कार्यालयले तत्कालका लागि भत्काउने कार्य स्थगित गरेको छ । वन अधिकृत ललन राउत कुर्मीका अनुसार जनप्रतिनिधिको अनुरोधलाई मान्दै तत्काललाई रोकिए पनि स्थानीयले आफैं नहटाए पुनः पुगेर भत्काइनेछ । ‘यो नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो । यहाँ घरटहरा बनाएर बस्न र व्यापार गर्न पाइँदैन । आज नभए भोलि हट्छ नै’ कुर्मीले भन्नुभयो ‘त्यसैले स्थानीय आफैंले समयमै खाली गर्नु उपयुक्त हुन्छ । हामीले त्यही समय दिएर फर्किएका हौं ।’

यसअघि डिभिजन वन कार्यालय र डिभिजन सडक कार्यालयको संयुक्त टोलीले गत जेठ १ गते चार दशक पुरानो सो बस्तीका ७२ वटा घरटहरा डोजर लगाएर भत्काएको थियो । सडक र वनको जग्गा अतिक्रमण गरिएको भन्दै भत्काइए पनि स्थानीयले पुनः सोही स्थानमा घरटहरा निर्माण गर्न थालेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैं उभिएर अनुरोध गरेकाले मुठभेडको स्थिति टार्न टोली फिर्ता बोलाइएको बताउनुभयो । ‘घरटहरा नहटाउने भन्ने होइन, केही दिनका लागि समय मात्र दिइएको हो’ सिडिओ अधिकारीले स्पष्ट पार्नुभयो ।

‘दिएको अवधिभित्र खाली नभए डोजर चलाएर हटाइनेछ, यसको अरू विकल्प छैन ।’ पूर्ववत् रूपमा खाली गराइएको जग्गामा पुनः संरचना बनाउनु गलत भएको भन्दै उहाँले छलफल भन्दा पनि अतिक्रमित क्षेत्र खाली गरेर सहज वातावरण बनाउन आग्रह गर्नुभयो । डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झाले पनि केही दिनको समय दिएर टोली फर्किएको पुष्टि गर्दै तोकिएको समयमा नहटाए कडा कदम चालिने चेतावनी दिनुभयो ।

Leave a Reply