वीरगन्ज,संघीय सरकारले वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरालाई खटाउने निर्णय गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बोहरालाई पठाउने निर्णय गरेको हो ।हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बोहरालाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरकारले खटाएको हो ।

यसअघि गत फागुन १२ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरेको थियो । तर वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले महानगरको सहमति बेगर गरिएको उक्त निर्णयप्रति असहमति जनाउँदै निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै मन्त्रालयमा पत्रचार गर्नुभएको थियो ।
त्यसपछि उक्त विवाद झन् चर्किदैं गएपछि कँडेले कार्यालयमा हाजिरी गर्न पाउनुभएको थिएन । गत बैशाख २८ गते मात्रै रवाना लिएर वीरगञ्ज महानगरमा हाजिर हुन आएपछि जेठ ५ गते महानगरमा बसेको जनप्रतिनिधिहरुको बैठकले कँडेललाई हाजिर हुन नदिने भन्दै सरकारले जबरजस्ति गरे महानगरमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने निर्णय समेत गरेको थियो ।वीरगञ्ज महानगरले हाजिर नगराएपछि मन्त्रालयले कँडेललाई कलैया उपमहानगरपालिकामा सरुवा गरेर पठाएको छ । सोमबारको मन्त्रीपरिषद बैठकले कँडेललाई बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउने निर्णय गरेको हो ।
















