बारा, ७ साउन । सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवको सामाजिक सञ्जालमार्फत पत्रकारमाथि गरिएको अमर्यादित टिप्पणीको विरोधमा नेपाल पत्रकार महासंघ बारा शाखा र मधेश प्रदेश समितिले एकसाथ आक्रोश पोख्दै अल्टिमेटम जारी गरेका छन् । महासंघले अध्यक्ष यादवले सार्वजनिक रूपमा माफी नमागे प्रतिरोधका कठोर रूपहरू अपनाउने स्पष्ट चेतावनी दिएको छ ।
पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार, साउन ६ गते भएको सामान्य सडक दुर्घटनापछि अध्यक्ष यादवले पीडित युवकमाथि दुर्व्यवहार गरे। सो घटनालाई समेटेर केही सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछि यादवले पत्रकारिता पेसामाथि सामाजिक सञ्जालमा अशालीन टिप्पणी गर्दै समग्र पत्रकार समुदायलाई बदनाम गर्ने प्रयास गरेको आरोप महासंघले लगाएको हो।
विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष यादवको अभिव्यक्तिले पत्रकारहरूमाथि डर, त्रास र मानसिक दवाव सिर्जना गरेको छ, जसले स्वतन्त्र र निडर पत्रकारितालाई सीधै चुनौती दिएको छ।” महासंघले लोकतान्त्रिक मुल्य, प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक मर्यादामाथि हमला भएको ठहर गर्दै गम्भीर आपत्ति जनाएको छ।
पत्रकार महासंघले अध्यक्ष यादवका अभिव्यक्तिहरूलाई ‘आधारहीन, अपमानजनक र दुर्भावनापूर्ण’ भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ। “यदि कुनै पत्रकारले आर्थिक लाभका लागि गलत आचरण गरेका हुन् भने त्यसको प्रमाणसहित सार्वजनिक गर्न तयार रहनुहोस्। नत्र पत्रकार समुदायमाथि यस्तो लाञ्छना असह्य हुनेछ,” विज्ञप्तिमा लेखिएको छ।
यसैबीच, मधेश प्रदेश पत्रकार महासंघले पनि अध्यक्ष यादवको अभिव्यक्तिलाई प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै घोर आपत्ति जनाएको छ। महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रेसप्रति असहमति जनाउने संवैधानिक र कानुनी बाटो छँदैछ, तर सार्वजनिक पदमा बसेका व्यक्तिले सामाजिक सञ्जालमा विषवमन गर्नु असह्य छ।”
महासंघका दुवै तहले हालै बढ्दो रूपमा देखिएको पत्रकारितामाथिको अवमूल्यन गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। समाचारप्रति असन्तुष्टि भए खण्डन गर्ने, कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै सामाजिक सञ्जाललाई प्रयोग गरी पत्रकारमाथि चरित्रहत्या गर्नु गम्भीर अपराध सरह ठहर गरिएको छ।

















