बारा – बाराको मानमत– मटिअर्वा सडकमा दुर्घटना जोखिमयुक्त स्थानमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । सडकखण्डमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका– १८ बडहर्वास्थित मौवापैनी पुल आसपास क्षेत्रमा रातको समयमा हुने सवारी दुर्घटना नियन्त्रण गर्न ड्रम र बाँसका पिलरमा स्टिकर टाँसेर आजबाट अभियानको सुरुवात गरिएको हो ।
नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले उपलब्ध गराएको स्टिकर टाँस्ने कार्य वडा अध्यक्ष चतुरबाबु वाग्लेको उपस्थितिमा सुरु गरिएको हो । कार्यक्रममा एमाले बारा सचिवालय सदस्य बसन्त खतिवडा, मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल यादव, सामाजिक अगुवा भरत सुहाल तथा प्रहरी र ट्राफिक प्रहरीको सहभागिता थियो ।
ग्रामीण क्षेत्रमा सडकको दुरावस्था, ट्राफिक नियमको बेवास्ता र चालकको लापरवाहीका कारण दुर्घटना हुने गरेको भन्दै जोखिमयुक्त स्थान पहिचान गरी स्टिकर टाँस्न लागिएको हो । दुर्घटना ठूला सडक र सहरमा मात्र नभई गाउँका भित्री सडकमा समेत बढ्दै गएको सहभागीहरूले बताएका छन् । पत्रकार महासंघका सचिव खतिवडाले दुर्घटना न्यूनीकरणका लागि प्रहरी र समुदायलाई जोड्ने उद्देश्यले ‘जेन्जी दिवस’का अवसरमा अभियान सुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार रातको समयमा सडक तथा जोखिमयुक्त संरचना पहिचान गर्न रिफ्लेक्ट स्टिकर प्रभावकारी हुने अपेक्षा गरिएको छ । जीतपुरसिमराको वडा नम्बर १८ का बडहर्वा, उचिडी, मनहर्वा, लामीडाँडा र पैनिटोललगायत दुर्घटनाको जोखिम रहेका स्थानमा स्टिकर टाँस गरिने भएको छ । बाँकी स्थानमा मौवादेवी युवा क्लबको अगुवाइमा अभियान सञ्चालन गर्नेगरी आवश्यक स्टिकर क्लबलाई उपलब्ध गराइएको छ ।
ट्राफिक प्रहरी पोष्ट पिलुवाका इन्चार्ज रामजनम रायले क्लब अध्यक्ष यादवलाई स्टिकर हस्तान्तरण गर्नुभएको थियो । स्थानीय समुदायको सहभागितामा जोखिमयुक्त स्थान पहिचान गरी अभियानलाई निरन्तरता दिने बताइएको छ ।
















