काठमाण्डौ – जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ ।
कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।
यो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उहाँले बताउनु भयो । रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ ।
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । त्यही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गएको २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । यस मार्गमा चल्ने रेल सेवाको गएको २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमित छ ।



















