निजगढ,केही दिनयता बढेको गर्मी कम नभएपछि निजगढ नगरपालिकाले नगरभित्रका विद्यालयमो यसअघि दिएको बिदाको अवधि मंगलवार फेरि ३ दिनको लागि थप गरेको छ ।यसअघि दोस्रो पटक दिएको ३ दिनको बिदा अवधिमा पनि गर्मी नघटेपछि नगरपालिका कार्यालयले तेस्रो पटक विद्यालय बन्दको समय थप गरेको हो । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले मंगलवार सूचना जारी गर्दै यसअघि मंगलवारसम्मको लागि दिइएको बिदाको अवधि थप गरेर जेष्ठ २६ गतेसम्म पु¥याइएको जानकारी दिनुभएको छ ।प्रमुख प्रशासकीय अधिकृत निरौलाले हस्ताक्षर गरेको पत्रमा निजगढ क्षेत्रको तापक्रम कम नभएको कारणले विद्यालयको नियमित पठनपाठन कार्यमा असहज हुनजाने तथा विद्यार्थीको स्वास्थ्यमा समेत पर्नसक्ने प्रतिकुल असरलाई ध्यानमा राखेर नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा यसअघि दिइएको बिदाको अवधि थप गरिएको उल्लेख छ ।यसअघि निजगढ नगरपालिका शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाले पहिलो पटक जेष्ठ १८ र १९ र दोस्रो पटक २३ गतेसम्मको लागि नगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गर्न सूचना गरेको थियो ।त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले पनि शनिवार नै सूचना जारी गरेर गर्मीका कारण जेष्ठ २३ गतेसम्म शिक्षण संस्थाहरु बन्द हुने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले सूचना जारी गर्दै यसअघि जेष्ठ २० गतेसम्मको लागि दिइएको बिदाको अवधि थप गरी जेष्ठ २३ गतेसम्मको लागि बिदा गरिएको जनाइएको छ । यसअघि जीतपुरसिमराले पनि जेष्ठ १८ गतेदेखि हिजोसम्मको लागि मात्र बिदा घोषणा गरेको थियो ।




















