पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित ३ दर्जनले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन । अध्यक्ष यादवसहित नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उमेदवारी दर्ता गराउनुभएको हो ।राजनीतिक दलहरुले सांसदहरु, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता कार्यकर्तालाई सहभागी गराएर जिल्ला समन्वय समिति बारामा रहेको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको उमेदवारी दर्ता भएको छ । यसैगरी हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदीले उमेदवारी दर्ता गराउनुभएको छ । उहाँ गत मंसिरमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट उमेदवार बन्नुभएको थियो ।उम्मेदवारी दर्ता गराउनेहरुमा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्तिप्रसाद यादव, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवालीको उमेदवारी परेको छ । ज्ञावाली गत निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उमेदवार बन्नुभएको थियो । काँग्रेसका विद्रोही समुहको समर्थथनमा उहाँले ७ हजार ६९८ मत पाउनुभएको थियो । यस्तै नागरीक उन्मुिक्त पार्टीबाट डा. कमरुल्लाह अंसारी, राष्ट्रिय जनमुिक्त पार्टीबाट हरिबुलअहमान अंसारी र केही स्वतन्त्रको पनि उमेदवारी परेको छ ।१ लाख ५ हजार २९८ जना मतदाता रहेको क्षेत्र नं.२ मा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षी प्रतिस्पर्धा हुने देखिएको छ । दुई दर्जन बढीको उमेदवारी परेपनि १० दलीय सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली काँग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपा अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । गत निर्वाचनमा एमालेसंगको लातमेलमा उक्त क्षेत्रमा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जित्नुभएको थियो । यादवले काँग्रेस माओवादीलगायत ५ दलीय गठबन्धनबाट उमेदवार बन्नुभएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई २५४ मतान्तरले पराजित गर्नुभएको थियो । कुशवाहा अहिले जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ । यादवले १३ हजार ८२२ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाउनुभएको थियो ।यादव उपराष्ट्रपती बनेपछि रिक्त बनेको बारा २ मा उपनिर्वाचन हुन लागेको हो ।
जनताले एमालेलाई नै जिताउँछन् : उम्मेदवार पौडेल
कलैया,नेकपा एमाले पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुरुषोत्तम पौडेलले आगामी निर्वाचनमा जनताले एमालेलाई विजयी गराउने बताउनुभएको छ ।एमाले बारा जिल्ला कमिटीले मनोनयन पत्र दाखिला गरेपछि कलैयामा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेवार पौडेलले सो कुरा बताउनुभएको हो । ‘क्षेत्र नम्बर २ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो, उहाँले भन्नुभयो, आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जिताएर जनताले यो तथ्यलाई प्रमाणित गर्नेछन ।’ऐतिहासिक रुपमा पनि क्षेत्रका जनता कम्युष्टि पार्टीको झण्डामूनि न्याय र सत्यको पक्षमा गोलबन्द हुदै र लड्दै आएको बताउदै उहाँले सहिद मुखलाल महतोले सहादत प्राप्त गरेको र सुखल यादव, महन्त पटवारी, सोहन चौधरी जस्ता इमान्दार र त्यागी नेताहरुको कर्मथलो पनि भएकोले क्षेत्रमा एमाले कमजोर नभएको बताउनुभयो । उहाँले सोहन चौधरीले २ पटकसम्म निर्वाचन जितेको बताउदै फेरि पनि एमालेले नै जित्ने बताउदै संघठनको हिसाबले अहिले पनि एमाले उक्त क्षेत्रमा सबैभन्दा बढी संघठित पार्टीको रुपमा रहेको जानकारी दिनुभयो । ‘अन्य पार्टीको तुलनामा एमालेमा सबैभन्दा बढी कार्यकर्ता गोलबन्द छन, उहाँले भन्नुभयो, यस्तो अवस्थामा अन्य दलले निर्वाचन जित्न जतिसुकै ठुलो गठबन्धन बनाएर आएपनि जनताले एमालेलाई नै जिताउनेछन ।’उम्मेदवार पौडेलले अन्य पार्टीले अन्यत्र जिल्लाबाट हारेका मान्छेलाई उम्मेदवार बनाएकाले पनि जनता एमालेको पक्षमा उभिने दाबी गर्नुभयो । ‘जनताले काम नलाग्ने भनेर अस्वीकार गरेका मान्छे उम्मेदवार बनेका छन, उहाँले भन्नुयो, अन्यत्रबाट हारेका र भगौडाहरुलाई जनताले मत दिने छैनन ।’उहाँले अघिल्ला २ निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार नदिएकोले पनि केही मान्छेमा एमाले कमजोर रहेको भन्ने भ्रम परेको बताउदै विपक्षीहरुले सोचे जस्तो एमाले कमजोर नभएको पनि बताउनुभयो । पौडेलले उपनिर्वाचनले देशको भविष्य संकेत गर्ने भएकोले पनि एमाले पुरै एकता र शक्तिका साथ चुनावमा होमिएको पनि बताउनुभयो ।नेता पौडेलले देशको अवस्था सकरात्मक नभएको भन्दै देशको राजनीतिक अवस्था नै बिग्रिएकोले राष्ट्रले पनि आर्थिक संकट बेहोरिरहेको बताउनुभयो । उहाँले अहिले देशमा अस्थिरता चाहने तत्वहरु हाबी बनेको र यसको अन्त्यको लागि एमाले बाहेक अर्को विकल्प नभएको पनि बताउनुभयो ।उहाँले देशमा स्थायित्व र सम्मुन्नति र विकासको लागि एमाले अझ बलियो बन्नुपर्ने बताउनुभयो । नेपाली जनताले देशमा विकास निर्माण, शिक्षा, स्वास्थ्य र उत्पादनको क्षेत्रमा सुधार र परिवर्तन खोजेको र उक्त कार्य एमालेबाट मात्र संभव हुने पनि बताउनुभयो ।उम्मेदवार पौडेलले बारा क्षेत्र नम्बर २ अनेकौं शंभावनाका बीच पनि विकासको दृष्टिले पछाडि परेको उल्लेख गर्दै क्षेत्रको विकासको लागि पनि आफूले काम गर्ने बताउनुभयो । ‘विश्वप्रसिद्ध महागढीमाईको मन्दिर यही क्षेत्रमा छ, उहाँले भन्नुभयो, मन्दिर क्षेत्रको विकास गरेर क्षेत्रकै विकास गर्न सकिन्छ ।’ नेता पौडेलले महागगढीमाई मन्दिरमा जाने सडक र क्षेत्रको अन्य पूर्वाधार निर्माणको विकास गर्न आफू लागि पर्ने पनि दाबी गर्नुभयो ।एमाले जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदीको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवंम पूर्वमन्त्री ज्वाला साह, एमाले केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी लगायतले आमागी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउनुपर्ने कुरमा जोड दिनुभएको थियो । कार्यक्रमको संचालन एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो