वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदीमा प्रदूषण फैलाउने उद्योगलाई कारबाही गर्नेभएको छ ।
महानगरपालिकामा सोमवार उद्योगी व्यवसायी, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको बैठकले तिहार तथा छठ पर्वअगाडि उद्योगहरूबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर नदीमा सिधै मिसाउने उद्योगमा सिल गरेर कारबाही गर्ने निर्णय गरेको हो ।उद्योगहरुले प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरू सिल गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।बैठकमा महानगरका मेयर राजेशमान सिंहले नदी प्रदूषण गरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदूषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरू पनि तयार भएका छन ।यसअघि सोमवार बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदूषण गर्ने प्रमुख ६ वटा उद्योगहरू अनुगमन गरिएको थियो ।विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरूले नदी प्रदूषण गर्न नछाडेपछि सोमवार मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदूषण गराउने उद्योगका सञ्चालकहरूलाई बोलाएर नदी प्रदूषण रोक्न निर्देशन दिनुभएको थियो ।बैठकले वीरगञ्ज महानगरभित्र सञ्चालित प्रत्येक उद्योगले ६-६ महिनामा स्वअनुगमन मूल्याङ्कन प्रतिवेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।यस्तै उद्योगीहरूले सिर्सिया नदीमा प्रदूषण गर्न नरोके वीरगञ्ज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।बैठकमा मेयर सिंहले वीरगञ्जकै लाइफलाइनको रूपमा रहेको नदी उद्योगीहरूले प्रदूषित गरिरहेको भन्दै अब प्रदूषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरी संयन्त्र तयार पार्ने पनि बताउनुभयो ।बैठकमा सिर्सिया नदी प्रदूषण ठूला उद्योगहरु श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका प्रतिनिधिहरूले सञ्चालन गर्ने क्रममा उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताएका थिए । महानगरले नदी प्रदूषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरूले पनि पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताएका थिए ।बैठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचनप्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इन्डसट्रिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेललगायतको सहभागिता रहेको थियो ।महानगरपालिकाले यसअघि पाँच वटा उद्योगलाई नदी प्रदूषण गराउन प्रमुख भूमिका खेलेको भन्दै ३÷३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।