बारा – बाराको महागढीमाई नगरपालिका बरियारपुरले बाक्लो हुस्सु र चिसोले गर्दा दैनिक ज्यालादारी गर्न नसकेका अति विपन्न परिवारहरुलाई आज राहत सामाग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ५, ९ र १० को अति विपन्न परिवार र दलित परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

 

 

 

 

वडा नम्बर ५ का २ सय ५, ९ को २ सय र १० को ५४ अतिविपन्न र दलित परिवारहरुलाई ३०÷३० किलो चामल वितरण गरिएको नगर प्रमुख यादवले बताउनुभयो । वहांले चिसोको समयमा अति विपन्न परिवारहरुलाई खानपिन गर्नमा समस्या भएपछि राहत सामाग्री वितरण गरिएको बताउनुभयो । चिसोको समयमा दैनिक ज्यालादारी गर्न नसकि भोकै बस्नु पर्ने अवस्था आएकोले राहत स्वरुप खाद्यान्नमा चामल वितरण गरिएको बतांउदै नगर प्रमुख यादवले नगरभरीका अतिविपन्न र दलित परिवारहरुलाई राहत वितरण गरिने बताउनुभयो ।

 

 

 

 

साथै चिसोले गर्दा जनजिवन प्रभावित भएपछि राहतमा खाद्यान्न सामाग्री वितरण कार्य जारी रहेको र नगरभरीको गांउको चोक चोकमा आगो ताप्नको लागि दाउरा वितरण गर्न लगाईएको नगर प्रमुख यादवले बताउनुभयो । चिसोको समयमा बृद्धबृद्धा र बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया, श्वासप्रश्वासमा समस्या हुने भएकोले नगरपालिका भित्र रहेको हेल्थ पोष्टहरुमा गएर समयमै उपचार गराउन नगर प्रमुख यादवले आग्रह गर्नु भएको छ ।

 

 

 

 

 

राहत वितरण कार्यक्रममा उपप्रमुख तारादेवी कानु, वडा अध्यक्षद्वय गजेन्द्र जयसवाल, शशिकान्त मिश्र लगायतको सहभागिता रहेको थियो । यसअघि नगरपालिकाले चिसोको समयमा सार्वजनिक तथा निजि विद्यालयहरुलाई विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here