हुन त बारा र पर्साका बिद्यार्थीहरुले गत महिनाबाट भएपनि विद्यालयको मुखसम्म हेर्न पाएका छन । तर मुलुक भरका विद्यार्थीहरुको अवस्था फरक छ । विश्वमा कोरोनाको असर नपरेको क्षेत्र र मुलुक छैन । लाखौंले ज्यान गुमाए । आर्थिक क्षेत्र डामाडोल बन्यो । अर्थतन्त्रमा अब्बल मानिएका देशहरूले आर्थिक क्षेत्र सुधारका लागि सुरक्षाका योजना बनाए । सबै क्षेत्र चलायमान पनि भएका छन् । तर नेपालको सन्दर्भमा त्यस्तो छैन । क्रमशः उद्योग कलकारखाना, पर्यटन, बजार पसल खुले पनि दिर्घकालीन योजना नहुँदा पुनः कहिले बन्द हुन्छ टुंगो छैन ।
अझै शैक्षिक क्षेत्र त डामाडोल नै छ । नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षबाटै पढाइ सुचारु छ । वैकल्पिक माध्यमबाट पढाइ, परीक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि रोकिएका छैनन् । नेपालमा भने केहीले अनलाइन कक्षा चलाए पनि सबैमा कसरी सञ्चालन गर्ने बहस मात्रै छ । बालबालिका विद्यालय नगएको वर्षौं भयो । २०७६ चैत ११ गते लकडाउन हुनुभन्दा अघिदेखि नै शैक्षिक क्षेत्र बन्द थिए । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन(पाठन ठप्प प्रायः छ ।
विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा पाँच लाखभन्दा बढी अध्ययनरत छन् । केही प्रतिशत विद्यार्थी अनलाइन कक्षामा आवद्ध छन् भने यसको पहुँचमा नपुगेका लाखौं छन् । विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । मुलुकभर ३५ हजार पाँच सय २० विद्यालय छन् । तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन् । सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी छन् । सबै विद्यार्थी घरमै छन् । घरमै बसेर पढ्न र सिक्ने वातावरण उनीहरूलाई छैन ।