हुन त् मधेसलाई यसैपनि बद्नाम गर्ने गरिन्छ तर पछिल्लो समय भने यहाँको राजनीतिक खिचातानीका कारण मधेस प्रदेश वास्तवमैै बद्नाम भएको छ ।मधेसमा रहेका राजनीतिक दलहरु र तिनका नेताले मधेसभन्दा पनि आफ्नो र पार्टीको स्वार्थ अनुसारको काम गर्दा पनि मधेस बद्नाम हुदै आएको हो ।
पछिल्लो एक महिनाको समयमा मधेसमा २ जना मुख्यमन्त्री बनिसकेका छन । मधेसका मुख्यमन्त्री सरोज यादवले राजीनामा दिएपछि अब फेरि तेस्रो मुख्यमन्त्रीको खोजी हुनलागेकोछ । राजनीतिक दलहरु यति धेरै संकृण र स्वार्थमा जकडिएका छन कि यहाँ एकजनाले मुख्यमन्त्रीमा सपथ खान पाएको छैन, उसलाई असफल पार्न अर्कोले खेल शुरु गरिहाल्छ । पछिल्लो पटक देखिएको सत्ता खिचातानीले संघीयता नै खतरामा पर्ने डर बढेको छ ।
संघीयताको मुख्य पक्षधर नै मधेस हो तर यहाँ संघीयतालाई मजाक र दलीय स्वार्थ पूरा गर्ने विषय बनाइएको छ । जसका कारणले संघीयता नै खराब भन्ने भाष्य पनि सृजना हुदैछ र यस्तै बनाइदै पनि छ । मधेसमा यस्तै गतिविधि हुने हो भने किन चाहियो र संघीयता भन्ने प्रश्न उठेको छ र आगामी दिनमा अझै बढी उठ्ने छ ।
सत्ता खिचातानीकै कारण एक महिनाअगाडि लोसपा संसदीय दलका नेता जितेन्द्र सोनल मुख्यमन्त्री पद छाड्न बाध्य हुनुभएको थियो । फेरि बुधवार सरोज यादवले त्यस्तै नियति बेहोर्नु प¥यो । यो श्रृखला आखिर कहिलेसम्म चल्छ भन्न सकिने अवस्था छैन । एक अर्कालाई सिध्याउन र खुइल्याउन लाग्ने हो भने मधेसको अस्तित्व धरापमा पर्नेछ ।
अब मधेसमा फरक ढंगबाट सोच्ने र काम गर्ने बेला आएको छ । मधेस र संघीयता दुबै बचाउने हो भने यस्तो राजनीतिक अस्थिरता अन्त्य हुन आवश्यक छ ।















