सिमरा,सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुले प्रयोग गर्ने एक सय थान बेबी ब्लाङ्केट जीतपुरसिमरा नगर अस्पताललाई हस्तान्तरण गरेको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको हो ।
संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनित रौनियारलाई ब्लाङ्केट हस्तान्तरण गर्नुभएको थियो । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्मिने नवजात शिशुका लागि वितरण गरिनेछ ।

नवजात शिशुहरूलाई आवश्यक न्यानो कपडा उपलब्ध गराउनुका साथै महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई समर्थन र प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष उद्वबप्रसाद गौतम, संस्थाकी अध्यक्ष मुना खरेल, निर्वतमान अध्यक्ष अनिता लम्साल, उपाध्यक्ष भिमादेवी शर्मासहित संस्थाका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव गीता शर्माले गर्नुभएको थियो ।

Leave a Reply