कलैया । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगियावस्ती व्यवस्थापनमा ढिलाई गर्दा उक्त क्षेत्रमा नयाँ घरहरु संख्या बढ्दै गएको छ। आयोजना कार्यालयले २०७४ सालमा तयार गरेको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनमा टाँगियाँवस्तीमा एक हजार ४७६ घरधुरी रहेको उल्लेख भएको थियो। तर, अहिले उक्त क्षेत्रमा घरधुरी संख्या दुई हजार नाघेको छ।

‘टाँगियावस्तीमा अहिले घरधुरी सख्या दुई हजार नाघेको छ। अब  सरकारले वस्ती व्यवस्थापनलाई  ढिलाई ग¥यो भने अर्को वर्ष तीन हजार पुग्छ,’ टाँगियावस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले भने, ‘यो संख्या बाहिरवाट बसाइँ सरेर आएका भन्दा पनि  यही भएका परिवार संख्या बिस्तार भएर बढेको हो।’२०५१ सालमा ३५२ वटा कच्ची घर रहेको टाँगियावस्तीमा पछिल्लो समय कंक्रिटको पक्की घरहरु बन्दै गएका छन्। राष्ट्रिय वन क्षेत्रको मध्य भागमा रहेको उक्त वस्तीले प्रतिघर पाँच कट्ठादेखि साढे दुई बिघासम्म वन क्षेत्र ओगटेर बसेको छ। सरकारले समयमै व्यवस्थापनमा चासो नदेखाउँदा वन क्षेत्र बर्सेनि माँसिदै गएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यलयले टाँगियावस्तीमा नयाँ घरहरु निर्माणमा रोक लगाएको दावी गर्दै थपिएका घरहरुको जिम्मा नलिने जनाएको छ। ‘हाम्रो रेकर्डमा एक हजार ४७६ घरधुरी नै छ। हामीले घर थप्न दिएका छैनौं,’ आयोजना कार्यालयका कार्यवाहक प्रमुख विजय यादवले भने, ‘यदि कसैले थपेको भए पनि हामीसँग भएको पुरानो रेकर्डकै आधारमा व्यवस्थापनको काम हुन्छ।’ आयोजनाले काँटगाउँको पुर्जा भएको ११० बिघामध्ये ६५ बिघाको मुआब्जा वितरण गरिसकेको छ।

टाँगियावस्तीको हकमा व्यवस्थापनको ढाँचा कस्तो रहने भन्ने विषयमा निर्णय हुन नसक्दा काम अगाडि बढ्न नसकेको यादवले बताए। उनले भने, ‘अहिलेसम्म कुन मोडलमा रिसेटलमेन्ट हुन्छ, घर छोड्दा के के पाउँछन् केही थाहा छैन। यस विषयमा आयोजना कार्यालयबाट अहिलेसम्म कुनै निर्णय आएको छैन।’

करिब पाँच दशकदेखि चर्चामा आएको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण हुन्छ भन्नेमा उक्त क्षेत्रमा स्थानीयहरु विश्वास गर्दैनन्। ‘आउँछ आउँछ भन्छ्, उठाउँछ भन्छ खै म यही जन्मे हुर्केर ४र५ ओटा नातिनातिना भइसक्यो आजसम्म आएको छैन,’ ४८ वर्षीया विमला थापाले भनिन्, ‘विमानस्थल बन्छ भनेर त हामीलाई कति पनि विश्वास छैन। उठाउँछ भनेको धेरै वर्ष भइसक्यो, अहिलेसम्म उठाएको छैन। बनाएको पनि छैन।’थापाजस्तै टाँगियावस्तीका अधिकांश स्थानीयहरु विमानस्थल बन्नेमा विश्वास्त छैनन्। ५० वर्षदेखि टाँगियावस्तीमा बस्दै आएका कलबहादुर वाइबाले आफु बाँचुञ्जेल विमानस्थल नबन्ने दावी गरे। कंक्रिट प्रयोग गरेर पक्की संरचना बनाएका स्थानीयहरुले वस्ती व्यवस्थापन गर्दा संरचनाको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन्।प्रस्तावित विमानस्थलको काम अगाडि बढाउन सबैभन्दा ठूलो र मुख्य चुनौती वस्ती व्यवस्थापन भएको डिभिजन वन प्रमुख मञ्जुर अहमदले बताए। ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ठूलो चुनौती बस्ती व्यवस्थापन हो। रुख र वन होइन तर, यहाँ गलत प्रचार गरेर रुख र वन कार्यालयलाई विमानस्थल बन्न रोकेको भनी हामीलाई समस्या देखाइएको छ,’ अहमदले भने, ‘रुख काट्ने र ठाउँ क्लियर गर्ने सवाल संघीय सरकार र प्रदेश सरकारले निर्णय गरेलगत्तै काम सुरु हुन्छ। तर वनभन्दा पहिले बस्ती व्यवस्थापन हुनुपर्दछ।’ वन कार्यालयले हाल विमानस्थलको पहिलो रनवेको १९ सय हेक्टर क्षेत्रफलमध्ये करिव २०० हेक्टरमा रुख गणना कार्य सकिसकेको छ। थाहाखबरको सहयोगमा 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here