निजगढ,बाराको बारागढी गाँउपालिका वडा नम्बर ५ सिहासनीको छौघाट सिँचाइ आयोजना जीर्ण बनेपछि स्थानीय किसान दिनेश चौधरी धान रोपाइँ गर्न समस्या हुने देखेर अहिलेदेखि नै चिन्तामा पर्न थाल्नुभएको छ ।‘जीर्ण बनेको सिँचाइ आयोजनाबाट पर्याप्त पानी आउन छोडिसक्यो, चौधरीले भन्नुभयो, वर्षाको पानीको भर छैन, अब कसरी खेती उतार्ने होला चिन्ता बढ्दो छ ।’ समयमै बाली लगाउन सकिएन भने वर्षभरि खान र परिवारको गुजारा चलाउन समस्या हुने उहाँको भनाई छ ।

चौधरी जस्तै गाउँका सयौं किसानलाई यतिबेला यो वर्ष धान रोपाइँ गर्ने चिन्ताले सताउन थालेको छ । खोलामा पानी भएर पनि पुरानो बाँध र नहरका कारण धेरै पानी खेर गएको र खेतमा सिँचाइ गर्न नपाएको अर्का स्थानीय किसान रामेश्वर साहले बताउनुभयो । ‘सिँचाइ कार्यालय वा पालिकाले नै भएपनि मर्मत गरिदिए हुन्थ्यो, उहाँले भन्नुभयो, तर किसानको यो समस्यामा कसैले पनि चासो देखाएका छैनन ।’

गाउँ भएर बग्ने जमुनी नदीको शाखा नदीमा ०५० सालमा निर्माण भएको सिँचाइ आयोजनाबाट बारागढी गाउँपालिकाको बैरिया, सिहासनी, मलाहीलगायत दर्जनौं गाउँका ६ सयभन्दा बढी किसानले सिँचाइ सुविधा लिदैआएका छन । तर पछिल्लो समय मर्मत अभावमा किसानले पर्याप्त सुविधा प्राप्त गर्न नसकेका हुन । जिर्ण बाँध र नहरका कारण सो आयोजनाबाट ठूलो परिमाणमा पानी चुहिएर खेर गएको छ । पक्की बाँध र नहरको पर्खालबाट चुहिएर पानी खेर गएको हो भने नदीको सतह उकासिएरपछि बाँधको हेड पनि होचो भएको छ ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारालाई पटक पटक आग्रह गर्दा समेत मर्मतको लागि बेवास्ता गरेको छौघाट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष रामबाबु साह तेलीको भनाई छ । ‘सिंचाई आयोजनाको मर्मतको लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारामा एक वर्षदेखि आग्रह गर्दैआएका छौं, उहाँले भन्नुभयो, तर कार्यालयले किसानहरुको लागि एक पैसा पनि बजेट दिएको छैन ।’बाँध पैनीको मर्मत नहँुदै धान रोपाइँ गर्ने समय आएपछि यो वर्ष अब खेती कसरी उतार्ने भन्ने पिरमा किसानहरु चिन्तित बनेको उहाँले पनि सुनाउनुभयो ।

Leave a Reply