सिमरा,जनप्रतिनिधिहरुबीच लामो समयदेखि विवाद चल्दैआएको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरसभा सदस्यहरुले विशेष नगरसभाको बैठक बोलाउन माग गरेका छन् । उपमहानगरपालिकाको नगरसभामा कायम सदस्यमध्ये २५ प्रतिशतभन्दा बढी सदस्यले नगर प्रमुख राजन पौडेलसँग विशेष नगरसभा बोलाउन बुधवार माग गरेका हुन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ३ मा नगरसभाका एक तिहाई सदस्यले संयुक्त हस्ताक्षरसहित नगरसभाको विशेष बैठक माग गरेमा १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार ३७ जना सदस्यको हस्ताक्षरसहित जनप्रतिनिधिले विशेष बैठक बोलाउन माग गरेका हुन् ।उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाको विशेष बैठक माग गरिएको पत्र नगर प्रमुख पौडेललाई बुझाउनुभएको थियो । उपप्रमुख अधिकारीले जीतपुरसिमरामा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्नका लागि पनि विशेष बैठक माग गरिएको बताउनुभयो ।

उपमहानगरपालिकाको दसौं नगरसभाको विषयलाई लिएर उत्पन्न परिस्थितिलाई अन्त्य गर्दै नगरको समृद्धिका लागि विशेष बैठक माग गरिएको उपप्रमुख अधिकारीको भनाई छ । उपप्रमुख अधिकारीले विशेष नगरसभापछि जीतपुरसिमरामा देखिएको द्वन्द अन्त्य हुनेमा आफूहरु विश्वस्त रहेको पनि बताउनुभयो ।नगर प्रमुख पौडेलले विशेष नगरसभा माग गर्दै पत्र आएको र त्यसलाई आफूले अध्ययन गरिरहेको बताउनुभयो । नगर प्रमुख पौडेलले उक्त पत्र विधि र कानुनसम्मत रहे नरहेको अध्ययन गरेपछि मात्रै निर्णय लिने बताउनुभएको छ ।

Leave a Reply