रौतहट,रौतहटमा प्रहरीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआईबी) को असई (प्रहरी सहायक निरीक्षक) हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर १० सलेमपुर टोल बस्ने निर्मला महतो रहेकी छिन । महतोलाई प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।

पक्राउ परेकी महतोले जिल्लाका विभिन्न गाउँमा पुगेर आफ्नो नाम कतै नेहा, कतै निशा तथा कतै पुनमकुमारी बताउँदै आफु केन्द्रिय अनुसन्धान विभाग (सिआईबी) को असई हुँ भन्दै ठग्दै आइरहेकी थिइन् । उनीविरुद्ध रौतहटको चन्द्रपुर नगरपालिकाका सन्तोषबहादुर विश्वकर्मा, गुजरा नगरपालिकाका बिजय साह बनिया, चन्द्रपुरकै प्रविण साह र सर्लाहीका राजेस्वर साहले आफूलाई प्रहरीभन्दै रकम ठगी गरेको आरोपमा उजुरी दिएका थिए ।
महतोलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसूरमा पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिनुभयो ।


















