निजगढ,सब डिभिजन वन कार्यालय रतनपुरले अतिक्रमणमा परेको जमिनको विवरण पेस गर्न गरेको परिपत्रको समय सीमा समाप्त भइसक्दा पनि निजगगढ नगरपालिकाको रतनपुर क्षेत्रका ३ वटा सामुदायिक वन समूहले मात्रै कार्यालयले मागे अनुसारको विवरण उपलब्ध गराएका छन ।सब डिभिजन वन कार्यालय रतनपुरले कार्यालय मातहतका सबै १० वटा वन समूहको नाममा गत बैशाख २२ गते पत्र पठाएर वन सीमाभित्रको अतिक्रमित क्षेत्रको विवरण ५ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको थियो ।
वन कार्यालयको पत्रअनुसार मंगलवारसम्म निजगढ वडा नम्बर १२ को पशुपती, बुद्धज्योति र निजगढ १३ को धारापानी सामुदायिक वन उपभोक्ता समूहले मात्रै विवरण उपलब्ध गराएको डिभिजन वन कार्यालय रतनपुरका वन अधिकृत बादल लम्सालले जानकारी दिनुभयो । उहाँले अझै केही दिन पर्खिने र त्यसपछि पनि विवरण प्राप्त नभएर थप कारबाही अघि बढाइने बताउनुभयो ।

अधिकृत लम्सालका अनुसार विवरण उपलब्ध गराउने वन समूहले आफ्नो समूहको वनमा अतिक्रमण नभएको उल्लेख गरेर पत्र पठाएका छन । ‘अतिक्रमण शुन्य रहेको उल्लेख छ, उहाँले भन्नुभयो, सरकारद्वारा व्यवस्थित र समुदायिक वन समूहको सीमासम्बन्धि नक्साको अध्ययनपछि मात्रै अतिक्रमण भए नभएको बारेमा यकिन हुनेछ ।’
कार्यालयको पत्रमा अतिक्रमणमा परेको मिति, ठेगाना, वन क्षेत्रमा निर्माण गरिएको घरटहरा, खेतीबाली भए त्यसको संख्या र अतिक्रमित क्षेत्रको जिपिएस लोकेशनसहित अतिक्रमणको किसिम छुट्याएर अतिक्रमणबाट प्रभावित हुने घरधुरी विवरणसमेत उपलब्ध गराउन भनिएको थियो ।

वन कार्यालयले जिल्लास्थित सरकारी र सार्वजनिक कार्यालयहरुमार्फत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने एंव अतिक्रमित संरचना हटाउने कार्ययोजना तयार पार्ने प्रयोजनको लागि सामुदायिक वन समूहको क्षेत्राधिकारभित्रको अतिक्रमणको विवरण माग गरेको हो ।कार्यालयले रतनपुर क्षेत्रमा रहेको जनमुखी सामुदायिक वन उपभोक्ता समूह, लाल बकैया वन समूह, बुद्धज्योती वन समूह, पशुपति वन समूह, तपोभूमी वन समूह, धारापानी वन समूह, कैलाशपति वन समूह, शिव शक्तेश्वरी वन समूह, कल्की वन समूह र राधाकृष्ण सामुदायिक वन समूहको नाममा पत्र पठाएर विवरण माग गरेको थियो ।

Leave a Reply