सिम्रौनगढ,ऐतिहासिक, पर्यटकीय एवंम धार्मिकस्थल बाराको सिम्रौनगढमा बुधवारबाट चैते नवमी मेला एवंम सतचण्डी महायज्ञ शुरु भएको छ । मेला सुरू भएसंगै बिहानैदेखि नै कङ्काली मन्दिर परिसरका देवस्थलहरूमा भक्तजनहरूको भीड लागेको छ ।

कङ्काली मन्दिरको सौन्दर्यीकरणसँगै मेलामा सांस्कृतिक कार्यक्रम, झुलुवा, खेल तमासा, परम्परागत नेटुवा नाँच, निःशुल्क स्वास्थ्य शिविर, रासलीला, चैतावर प्रतियोगिताको व्यवस्थासँगै खानेपानी, बिजुली र सुरक्षासमेतको व्यवस्था मिलाइएको छ ।
रामनवमी मेला जसलाई यस क्षेत्रमा चैते रामनवमी मेला पनि भनिन्छ ।
यस क्षेत्रमा विशाल रानीवास दरबार र रामजानकी मन्दिर, र विशाल सिद्धपीठ कङ्गनकाली (कङ्काली) मन्दिर पनि भएकोले प्रत्येक वर्ष चैते दशैंको नवमीको दिनदेखि मेला लाग्दै आएको छ । दुवै मेला एकै शुभ मुहूर्तमा हुने भएकाले यो मेलालाई स्थानीयले महत्वका साथ लिने गरेका छन ।यो मेला नेपाल र भारतको बिहार राज्यकै ठूलो मेलामध्यको एक हो । प्रचिनकालदेखि लाग्दै आएको मेला विगतका वर्षहरूमा अभिभावकविहीन जस्तै थियो । जसकारण तीन महिनासम्म लाग्ने रामनवमी मेला तीन दिनसम्म मात्र लाग्नथालेको थियो ।
स्थानीय तह गठन भएपनि जनप्रतिनिधिहरूले मेला व्यवस्थापनमा चासो नदिँदा मेलाले अभिभावकत्व पाएको थिएन । तर यस वर्षदेखि वडा अध्यक्षद्वय नन्दकिशोरप्रसाद जयसवाल र विवेक मेहताको सक्रियतामा मेला व्यवस्थित तरिकाबाट सञ्चालन भएको स्थानीयहरू बताउँछन् । वडा अध्यक्ष जयसवालले आफ्नो कार्यकालमा मेला अवधि बढाएर १५ दिनसम्म पुर्याउने जानकारी दपनुभयो । उहाँकै पहलमा यस वर्षदेखि तीन दिनसम्म आयोजना हुने मेलाको अवधि बढाएर ९ दिन पर्याइएको छ ।निकै लामो समयदेखि लाग्दैआएको यो चैते मेला शुरुवातको एकीन मिति थाहा नभएको स्थानीय वृद्ध शिवबालक महतो नुनिया बताउँनुहुन्छ । विगतमा तीन महिनासम्म आयोजना हुने यस मेला उत्तरमा थरुहट क्षेत्र, पूर्वमा रौतहट र पश्चिममा पचरौता कबही क्षेत्रको मुख्य बजार थियो ।मेलाबाट स्थानीयले वर्षायामभरिका लागि चाहिने किराना, लत्ताकपडालगायतका आवश्यक सामग्रीहरू एकमुस्ट खरीद गरेर भण्डारण गर्ने प्रचलन थियो । मेलामा भारतको कलकत्ता, पटना, मुजफ्फरपुर र बेतियाका व्यापारीहरू पसल थाप्न आउँने गरेका थिए । उनीहरूले लत्ताकपडा, गहना, भाँडाबर्तन, फर्निचर, किरानालगायत मनोरञ्जनका साधनहरू थिएटर, सर्कस, म्याजिक शो, चलचित्र, प्रदर्शनी, नौटङ्की, मौतका कुवा, झुलाहरू साथमा लिएर आउँथे ।सन् १९६२ मा भोजपुरी साहित्यकार भिखारी ठाकुरको नौटङ्कीसमेत यो मेलामा आएको स्थानीय जगदीश महतो बताउँनुहुन्छ । मेला ९ दिनसम्म सञ्चालन गर्न सतचण्डी महायज्ञको आयोजना समेत गरिएको छ ।
गत वर्षको तुलनामा मेलाको अवधी ९ दिनसम्म बढेको र महायज्ञ पनि आयोजना गरिएकाले मुख्य नवमीको दिन मेलामा भक्तजनको घुइँचो बढेको हो ।
मेलाको मुख्य आकर्षणको केन्द्र सदियौदेखि नेटुवाको नाँच रहेको छ । यो नाँचमा भाखल अनुसार महिलाहरु आफ्नो आचल पसारेर सो माथी नेटुवाको नाच नचाउने गर्छन् ।यसका साथै यस वर्ष सतचण्डी महायज्ञमा सिम्रौनगढको इतिहास झल्काउने गुरु भगताको प्रतीमा, भगताको टाउको फोडी काली माताको कंगनयुक्त हात र बाघबाट दाउनी गरेको प्रतीमा पनि देखाईएको छ । यस्तै रानिवास मन्दिरको प्राङ्गणमा ९ दिने नवाह यज्ञ अठ्जाम आयोजना गरिएको छ ।


















