नेपालमा जंगली जनावरहरुको प्रकोप हुने धेरै जिल्लामध्ये बारा पनि एक हो । बारा जिल्लामा हात्ती र बाघको आक्रमणबाट ज्यान गुमाउने संख्या बर्षेनी बढ्दो छ ।बारा जिल्ला घना जंगल भएको जिल्ला पनि हो । जिल्लामा ४६,५३० हेक्टर क्षेत्र वन जंगलले ढाकिएको छ । मुख्यतः जिल्लाको उत्तरी भागमा रहेको वन त्यहा रहेका वन्यजन्तुका कारण बेलाबेलामा मानवीय क्षति हुने गरेको छ ।
सोमबार मात्रै बाराको पथलैया निजगढमा एकजनाको हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । आफ्नो गाडी लिएर पूर्वपश्चिम राजमार्गबाट गन्तव्य हिडेका व्यक्ति हात्तीको निसानामा परे र ज्यान गुमाए ।यो पीडादायी घटना हो । मानवीय क्षति भएपछि यसो भएको भए वा यसो भएको भए भन्नु बेकार छ बरु नीति बनाउन आवश्यक छ ।बारामा हात्तीले सोमवार बिहानबाटै सर्वसाधारणको ज्यान लिएको होइन, यस्ता धेरै घटनाहरु बारा र पर्सामा भएका छन् ।
विशेषतः हात्ती र बाघले बारा र पर्सामा मानवीय क्षति गरेको छ तर यसमा सरकारी स्तरबाट खासै ध्यान दिएको देखिदैन । कसैको मृत्यु भएपछि दिइने रकम क्षतिपूर्ति होइन त्यो राहत होला तर यसैमा अल्झाउने काम पनि गलत हो । त्यसो त यस्ता घटनामा ज्यान गुमाउने पीडित परिवारका सबैले क्षतिपूर्ति पनि पाएका छैनन् ।
राजमार्गमा हात्ती हिड्छ अनि मानिसले त्यसैका कारण ज्यान गुमाउन पर्छ भने त्योभन्दा बिडम्बना के होला । कम्तीमा राजमार्ग भनेको त चौडा हुनुपर्दछ । जंगली जनावरका लागि सहज रुपमा ओहोरदोहोरको छु्ट्टै व्यवस्था मिलाउनु पर्दछ । तर हामी कहाँ न त बाटो राम्रो त न त सुरक्षाको उचित प्रबन्ध नै गरिन्छ । अब पनि बाटो चौडा गरेर पर्खाल नलाइएन भने यस्तो दुर्घटना फेरि फेरि हुने नै छ ।

















