निजगढ,निजगढ नगरपालिकाले नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी कार्यलाई प्रभावकारी र व्यवस्थित तुल्याउने बारेमा मंगलवार निजगढमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरको छ ।चालू आर्थिक वर्षको लागि कार्यालयले पटकपटक गरेको बोलपत्र आह्वानको ठेक्का सकार हुन नसकेपछि निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको लागि सल्लाहा सुझाव लिने उद्देश्यले सर्वपक्षीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रमको प्रारम्भमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नदीजन्य पदार्थको ठेक्का लगाउने बारेमा कार्यालयबाट भएको प्रकृया र अवस्था बारेमा जानकारी गराउनुभएको थियो । निजगढ नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत नै नदीजन्य पदार्थ भएको बताउदै नगर प्रमुख पुरीले यसको उत्खनन, संकलन र बिक्री सम्बन्धिमा प्रभावकारी व्यवस्था गर्न जरुरी भएको बताउनुभयो । ‘२ पटकसम्म बोलपत्र आह्वान गर्दा पनि ठेक्का लाग्न सकेको छैन, उहाँले भन्नुभयो, अब फेरि तेस्रो पटकको लागि पनि कार्यालयले बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।’ उहाँले ठेक्का लाग्न नसकेको अवस्थामा वैकल्पिक उपायको खोजी गरेर भएपनि नगरपालिकाको स्रोतको सदुपयोग गर्न जरुरी भएको बताउनुभयो । यसको लागि नगरपालिका कार्यालयले सबैको सल्लाह र सुझावको आधारमा कार्यविधि निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासीको प्रबन्ध मिलाइने पनि बताउनुभयो । कार्यक्रममा निजगढ नगरपालिकाका पूर्वनगरप्रमुख सुरेश खनाल, नेपाली कांग्रेस नगर सभापती नवराज तिमल्सिना, नेकपा एमालेका सचिव तिलक घलान, नेकपा माओवादी केन्द्रका सन्तोष दङ्गाल, राप्रपाका खडगप्रसाद उप्रेती, एकिकृत समाजवादीका भिमसेन सापकोटा, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, नेकपा एमालेका नेता अम्बिकाप्रसाद चौलागाई, नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी, पेमा लामा, पूर्व वडा अध्यक्ष रामजी बजगाई, सुदर्शनप्रसाद बडाल, पत्रकार जितलाल श्रेष्ठलगायतले नदीजन्य सामग्री उत्खनन र निकासी बारेमा सुझाव दिनुभएको थियो ।
सहभागीहरु मध्ये केहीले आइइ रिपोर्टको आधारमा नगरपालिका कार्यालय आफैले उत्खनन गरेर घाटगद्दी स्थानमा संकलन र बिक्री गर्नुपर्ने तथा केही सहभागीहरुले ठेक्का प्रकृयामार्फत नै नदीजन्य पदार्थको उत्खनन र बिक्री गरिनुपर्ने सुझाव दिएका थिए ।आर्थिक वर्ष ०७९÷०८० को लागि नगरपालिकाले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको थियो । पहिलो पटक पुष २४ गते ३० दिनको समयसीमा राखेर इ–बिडिङ्गमार्फत आह्वान भएको ठेक्कामा तोकिएको मितिभित्र कसैले पनि बोलकबोल सकार नगरेपछि नगरपालिकाले दोस्रो पटकको लागि १५ दिने सार्वजनिक सूचना निकालेको थियो । उक्त अवधिमा पनि ठेक्का नलागेपछि नगरपालिका कार्यालयले तेस्रो पटकको लागि फेरि ७ दिनको म्याद राखेर ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञाका कारण यो वर्ष समयमै ठेक्का लगाउन नसकेको निजगढ नगरपालिकाले अदालतले रिट निवेदन खारेज गरेपछि टेण्डर आह्वान गरेको थियो । अन्तरक्रिया कार्यक्रमका निजगढ नगरपालिकाद्वारा स्थानीय कानुन निर्माण गरी नदीजन्य पदार्थको उत्खनन, संकलन र निकासी कार्यलाई व्यवस्थित तुल्याउने र सो कार्यको लागि स्थानीय सबै राजनीतिक दल र संघसंस्थाहरुको तर्फबाट सहयोग, समन्वय र सहकार्य गर्ने निर्णय भएको निजगढ नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।



















