वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर १ पशुपतिनगरमा बाघको डमरु जस्तो देखिने बन्यजन्तु फेला परेको छ । स्थानीय मुना सहनीको घरछेउमा फेला परेको सो वन्यजन्तु बाघ वा चितुवाको बच्चा हुनसक्ने स्थानीय प्रहरीको भनाई छ ।
वन्यजन्तुको बच्चा फेला परेको खबरप्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय एकटाङ्गाको टोली उक्त स्थानमा पुगेर बच्चालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले चितुवा वा बाघको बच्चा भन्ने बारेमा अझै यकिन हुन नसकेको बताउनुभयो । उहाँले केही समययता उक्त क्षेत्रमा बाघको गतिविधि बढेकोले सो पनि बाघकै बच्चा हुनसक्ने अनुमान गर्नुभएको छ ।
बाघले स्थानीयको घर र गोठमा प्रवेश गरेर चौपायलाई आक्रमण गर्ने र मार्ने गरेकाले सो क्षेत्रका बासिन्दा अहिले पनि त्रसित रहेको प्रहरी निरीक्षक केशरीले जानकारी दिनुभएको छ ।


















