रौतहट,रौतहटको ईशनाथ नगरपालिका– ५ मा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी गरिएको छ ।
जटहारा टोलस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रह्मस्थानमा मङ्गलवार राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) एलिजा गिरीले घटनाको पुष्टि गर्दै कसैले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी सहितको टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको डिएसपी गिरीले बताउनुभयो ।
स्थानीयबासिन्दाले भने सामाजिक सद्भाव बिथोल्न केहीले मन्दिरमा आगजनी गर्ने जस्तो अराजक कार्य गरेको बताएका छन । उनीहरूले दोषिको खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न माग पनि गरेका छन् । आगजनीबाट क्षतिग्रस्त हनुमानजीको मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी दिएका छन् ।

Leave a Reply