निजगढ,निजगढ ५ स्थित श्री जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहमा नेतृत्व सर्वसम्मत चयन गर्न चौथो पटक म्याद थप भएको छ ।तेस्रो पटक थपिएको समयमा पनि नयाँ कार्यसमितिको चयन सर्वसम्मत हुन नसकेपछि शनीवार फेरि १ हप्ताको समयमा थप गरिएको हो । तर यस पटक भने आगामी जेष्ठ १५ गतेभित्र सर्वसम्मत नेतृत्व चयन गर्ने गरी समय थप गरिएको निर्वाचन समितिका सदस्य एंव सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुबीच भएको छलफलमा जेष्ठ १५ भित्र सर्वसम्मत नेतृत्व चयन गर्ने गरि कार्यसमिति चयन गर्ने म्याद थप भएको हो ।
स्थानीय राजनीतिक दलमा आवद्ध उपभोक्ताहरुबीच कार्यसमितिका पदाधिकारी चयनमा सहमति बन्न नसक्दा गत बैशाख १२ गते भएको समूहको साधारण सभाले नयाँ कार्यसमिति चयन गर्न सकेको थिएन ।सहमतिकै आधारमा समूहको नयाँ कार्यसमिति चयन गर्नभन्दै निर्वाचन समितिले अहिले चौथो पटक समय थप गरेको हो । निर्वाचन समितिले अब सहमतिमा कार्यसमिति चयन गर्न अधिकतम प्रयास गर्ने र सहमति हुन नसके विधान अनुसार मतदान प्रक्रियाबाट नै भएपनि कार्यसमितिको चयन गरिने बताएको छ ।

१७ सदस्यीय कार्यसमितिमा टोल भेलाबाट चुनिने ६ जना सदस्यहरु भने यसअघि नै सर्वसम्मत चुनिइसकेका छन तर समूहको अध्यक्ष, सचिव र कोषाध्यक्ष जस्ता पदाधिकारीमा आकांक्षीहरुको संख्या धेरै भएको बताइएको छ ।
नयाँ कार्यसमिति चयन गर्न सब डिभिजन वन कार्यालय तामागढीका वन अधिकृत राजकिशोर प्रसाद उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन भएको छ । निजगढ नगरपालिका वन तथा वातावण शाखाकी अधिकृत पूर्णीमा तिमल्सिना र निजगढ फेकोफनका अध्यक्ष थापा समितिको सदस्यमा रहनुभएको छ ।

Leave a Reply