निजगढ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीमा स्थानीयले प्रहरीको भ्यानबाट खोसेर भगाइएका ३५ वर्षका सागर लामाले बिहीवार प्रहरीमा आत्मासमर्पण गरेका छन ।हतकडीसहित भगाइएका लामा आफै इलाका प्रहरी कार्यालय निजगढमा आएका हुन । तर इलाका प्रहरी कार्यालय निजगढका बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले उनलाई बिहीवार दिउसो निजगढ बजारबाट नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको बताउनुभएको छ ।अवैध हातहतियार राखेको अभियोगमा मंगलवार इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेर निजगढ ल्याउने क्रममा स्थानीयको एउटा समुहले बाटो अवरोध गरी लामालाई प्रहरीको भ्यानबाट खोसेर भगाएका थिए ।लामालाई खोसेर लैजाने क्रममा दुबै पक्षबीच केहीबेर दोहोरो भिडन्त परेको थियो । भिडन्तमा प्रहरीले ५ राउण्ड हवाइ फायर गर्नुपरेको थियो भने इलाका प्रहरी कार्यालय निजगढका दुईजना प्रहरी सामान्य घाइते बनेका थिए ।घरमा ठुला हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा घरबाट लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply