वीरगन्ज,वीरगन्ज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू गरेको छ ।बुधबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले सेवा सुरु गराउनुभएको हो । कार्यक्रममा बोल्दै उहाँले यो सेवा प्रभावकारी ढंगले सबैको पहुँचमा पुग्ने गरी लैजान स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै मेयर सिंहले हेलचेक्र्याइ गर्नेलाई कारबाही गरिने चेतावनी समेत दिनुभयो ।महानगरभित्रका हरेक स्वास्थ्य चौकीमा ‘सायना प्रेस’ पुगिसकेको भन्दै सेवाग्राहीलाई सहजताका साथ यसको प्रयोग गराउन महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले आग्रह गर्नुभयो । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा महानगरका सबै स्वास्थ्यचौकी र केन्द्रबाट प्रदान गरिने उहाँले बताउनुभयो ।सायना नामक सुई एक पटक लगाएपछि यसले ३ महिनासम्म गर्भ रहनबाट रोक्ने छ ।विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको भए पनि नेपालमा भने सुई आफैं लगाउन अनुमति दिइएको छैन । यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उहाँले बताउनुभयो ।कार्यक्रममा वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ‘साइना प्रेस’ लगाउने बारेमा प्रशिक्षण दिइएको हो ।गएको साउन महिनादेखि नै ‘साइना प्रेस’ सुरु गर्नु पर्ने भए पनि स्वास्थ्यकर्मीहरु प्रशिक्षित नहुँदा कार्यक्रम लागु गराउन नसकिएको बताइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयले प्रशिक्षण दिएसँगै बिहीवारबाट महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकी र केन्द्रमा यो सेवा सुरु हुने महानगरको स्वास्थ्य शाखाकी इन्दिरा लोहनीले जानकारी दिनुभयो । ‘स्वास्थ्यकर्मी प्रशिक्षित नहुँदा केही ढिला गरी यो सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘अबदेखि ३२ वटै वडाबाट अस्थायी परिवार नियोजनको लागि आउने सर्वसाधारणले महिलाले यो सेवा लिन सक्नेछ ।’


















