सर्लाही,राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम ठप्प भएको छ । बजेट अभावका कारण रेलमार्ग निर्माणको काम रोकिन पुगेको हो । रेलमार्गको अहिलेसम्म महोत्तरीको बर्दीवासदेखि रौतहटको चोँचासम्मको ६९ किलोमिटर क्षेत्रमा ट्रयाक निर्माणका लागि ठेक्का लागेको छ ।यो खण्डको ६९ किलोमिटरमध्ये महोत्तरी, सर्लाही र रौतहट गरी तीनै जिल्लाका विभिन्न स्थानमा एक किलोमिटर ३०० मिटरजति क्षेत्रमा ऐलानी जग्गा र मुआब्जाको विषयमा विवाद हुँदा काम अघि बढ्न सकेको छैन । रेल योजना कार्यालय लालबन्दीका प्रमुख किरण कार्कीले यो वर्ष रेलमार्ग निर्माणका लागि अत्यन्त कम बजेट प्राप्त भएकाले काम गर्नै नसकिएको जानकारी दिनुभयो ।

रेलमार्गको काम गर्न चालू आर्थिक वर्ष २०८१-८२ मा ३३ करोड रुपियाँ बजेट मात्र प्राप्त भएकोमा सबै बजेट खर्च भइसकेको छ । निर्माण व्यवसायीलाई गत वर्षकै तिर्न बाँकी रहेको रकम र यो वर्ष भएका केही कामको भुक्तानी भएर बजेट सकिएकाले थप काम अघि बढ्न नसकेको कार्कीले बताउनुभएको छ ।निर्माण व्यवसायीले अघिल्ला वर्षकै भुक्तानीका लागि ताकेता गरिरहेकाले थप काम गराउन नसकेको रेल योजना कार्यालय लालबन्दीका प्रमुख कार्कीको भनाइ छ । कार्कीले निर्माण व्यवसायीलाई पुरानो केही रकम उपलब्ध गराउन पाए सम्झाइ बुझाई थप काममा लगाउन सक्ने अवस्था रहेको तर मन्त्रालयबाट बजेट निकासा हुनेबारे अत्तोपत्तो नहुँदा अन्यौलमा परेको बताउनुभयो ।
लालपुर्जा नरहेको सर्लाही र रौतहटको विभिन्न स्थानको जग्गालाई के गर्ने भन्ने निर्णय मन्त्रिपरिषदबाटै गर्नुपर्ने अवस्था देखिएको छ । विद्युतीय रेलमार्गअन्तर्गत महोत्तरीको बर्दीवासदेखि सर्लाहीको फूलजोरसम्म २०७० साल र फूलजोरदेखि रौतहटको चोँचासम्म २०७५ सालतिरै ठेक्का लिएर विभिन्न निर्माण कम्पनिले काम गरेका छन् ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सन्तोषि कन्टेक्ट, लुम्बिनी एपेक्स, रौतहट हिन्दुङ थोकर, गोल्डेन बिरुवालगायतका निर्माण व्यवसायीले ठेक्का पाएका छन् । यि सबै निर्माण व्यवसायी पुरानो कामकै भुक्तानी नपाएर हैरान छन् ।रेल योजना कार्यालय लालबन्दीका अनुसार पहिलो चरणमा ग्राभेल भर्ने, बेस निर्माण गर्ने र पुल, पुलेसाको काम गर्नुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भएको छ । विवाद भएको ठाउँ छाडेर काम गर्दा पनि बर्दीवासदेखि चोँचासम्म ट्रयाक निर्माणको काम ९० प्रतिशतभन्दा बढी भइसकेको र चोँचादेखि बाराको निजगढसम्मको खण्डमा ठेक्का लाग्न बाँकी रहेको रेल योजना कार्यालय लालबन्दीले जनाएको छ ।

बजेटको कमी, निर्माण सामग्रीको अभाव र जग्गाको विवादका कारण चालू आर्थिक वर्षमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको काम ठप्प नै रहने अवस्था देखिएको छ । सर्लाहीको हरिवनस्थित घुर्कौली क्षेत्रका स्थानीयले जग्गाको मुआब्जा निकै कम भएको भन्दै मुआब्जाबापतको रकम बुझ्नै मानेका छैनन् ।जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घुर्कौली क्षेत्रको हकमा ९५ प्रतिसत किसानले मुआब्जा लिइसकेकाले बाँकी पाँच प्रतिशतले मात्रै मुआब्जाको रकम वृद्धि गर्नुपर्ने माग गर्न उचित नहुने बताउनुभयो । उहाँले निर्माण कार्यमा अवरोध नहुने गरी सहमतीको बाटो खोज्न रेल योजना कार्यालयलाई भनिएको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मुआब्जाकै कारण रेलमार्ग निर्माणमा समस्या उत्पन्न हुन नदिन छलफल तथा समन्वय गरिरहेको जानकारी दिनुभयो । महोत्तरीको बर्दीवासदेखि रौतहटको चोँचासम्मको खण्डमा नै रेलमार्गको ट्रयाक निर्माणमा अनेक समस्या उत्पन्न हुँदा चोँचादेखि बाराको निजगढसम्मको खण्डमा काम अघि बढाउने रेल योजना कार्यालयको प्रयास असफल बनिरहेको छ ।

Leave a Reply