सर्लाही, २२ असोज । दुर्गा पूजाको चन्दा विवादका क्रममा प्रहरी चौकीमाथि आक्रमण गरी तोडफोड गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष बिनेश कुमार दास (छोटेलाल) पक्राउ परेका छन्।

गत शनिबार साँझ गोडैता बजारमा दुर्गा पूजाको चन्दा संकलनको विषयलाई लिएर दुई पक्षबीच वादविवाद सुरु भएको थियो। उक्त विवाद नियन्त्रणमा लिन प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले रामनगर गाउँपालिका–५ का अनिल राय यादवलाई नियन्त्रणमा लिएपछि स्थिति झन् तनावपूर्ण बनेको थियो।

त्यसपछि वडाध्यक्ष दाससहितका केही स्थानीयले प्रहरी चौकीमाथि ढुंगा–मुढा गर्दै आक्रमण गरेका थिए। सो क्रममा चौकी परिसरमा रहेका तीनवटा मोटरसाइकल तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आक्रमणका क्रममा चौकीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) अवधेश प्रसाद यादव र अन्य पाँच जना प्रहरी कर्मचारी घाइते भएका थिए। ढुंगा लागेर सई यादवका अगाडिका दुई दाँत भाँचिएका र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनीसहितका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।

घटनापछि फरार रहेका वडाध्यक्ष दासलाई प्रहरीले आइतबार पक्राउ गरी हिरासतमा राखेको हो। सर्लाहीका डीएसपी सरोज राईका अनुसार, “घाइते प्रहरी अधिकृतको जाहेरीका आधारमा वडाध्यक्ष दासमाथि कुटपिट, अंगभंग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको छ।” राईका अनुसार, पक्राउ परेका दासलाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान जारी रहेको छ। उनले भने, “घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप पक्राउको तयारी भइरहेको छ।”

स्थानीयहरूले भने विवाद दुर्गा पूजाको चन्दा संकलनमा रकम वितरणका विषयमा भएको बताएका छन्। वडाध्यक्ष दासको समर्थक समूहले प्रहरीको कार्यप्रणालीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको थियो।

प्रहरीले अहिले गोडैता बजार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाएको र थप अप्रिय घटना नघटोस भनेर चौकी वरपर कडा निगरानी राखिएको जनाएको छ।

Leave a Reply